हेटौँडामा ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली मौलिक कला, संस्कृति र नेवार समुदायको ऐतिहासिक पहिचान जोगाउने उद्देश्यले हेटौँडामा ऐतिहासिक तथा सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने भएको छ।

नेप इभेन्ट्स इन्टरटेनमेन्टको आयोजनामा जेठ १५ गते हेटौँडामा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमकी संयोजक निलम वैद्यले जानकारी गराइन्। वैद्यका अनुसार ‘हेरिटेजको प्रतिध्वनि’ नारासहित आयोजना हुने कार्यक्रममा नेवार समुदायका परम्परागत नाच, बाजागाजा र देवी–देवतासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिने छ।

कार्यक्रममा भक्तपुरको तुलाछें टोलबाट करिब ६ सय वर्षअघि मल्लकालमा सुरु भएको ‘तुछिमला भैरव प्याखँ’ पहिलो पटक हेटौँडामा प्रदर्शन हुन लागेको हो। संयोजक वैद्यका अनुसार उक्त नाच नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा चिनिन्छ।

‘देवी–देवताप्रति श्रद्धा व्यक्त गर्दै समुदायमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले यो नाच परम्परागत रूपमा प्रदर्शन हुँदै आएको छ,’ उनले भनिन्, ‘आधुनिकताको प्रभावले हराउँदै गएका मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन कार्यक्रम आयोजना गरिएको हो।’

कार्यक्रममा भैरव, महाकाली, बाराही, कुमारी, महालक्ष्मी लगायत देवी–देवताका स्वरूपहरूको नृत्य प्रदर्शन गरिनेछ। यसका साथै खिचा प्याखँ, कवाँचा प्याखँ लगायतका सांस्कृतिक नाच पनि प्रस्तुत गरिने छ। हेटौँडा–१ स्थित हिमालयन दरबार ब्यांक्वेटमा आयोजना हुने कार्यक्रममा विभिन्न विधाका २५ भन्दा बढी कलाकार सहभागी हुनेछन् भने बाजागाजासहित करिब १ सय जनाको प्रस्तुति रहनेछन्।

संयोजक वैद्यका अनुसार यो कार्यक्रमले भक्तपुर बाहिर ऐतिहासिक तथा सांस्कृतिक नाच प्रदर्शन हुनुले सांस्कृतिक आदानप्रदान र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम अवलोकनका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ।

सुझावित समाचार