नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्षका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन्।
बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट छलफल प्रक्रियामा सरकारले जे ल्याएको छ, त्यसलाई स्वीकार गर्नुपर्ने अवस्थामा सत्तापक्षका सांसदहरू पुगेको बताए।
पुनले आफ्ना निर्वाचन क्षेत्रका विषय प्रभावकारी रूपमा उठाउन नसक्दा आगामी दिनमा जनताले सत्तापक्षका सांसदहरूमाथि नै प्रश्न उठाउन सक्ने धारणा राखे।
उनले संसद्को अधिवेशन ढिलो गरी आह्वान गरिएकाले बजेटकेन्द्रित छलफलहरू हतारमा टुंग्याउनुपर्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। सरकारको नियत संसद्लाई छल्ने खालको देखिएको भन्दै आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए।
त्यस्तै, सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीको देखिएको टिप्पणी गर्दै उनले त्यसभन्दा फरक र प्रभावकारी बजेट ल्याउनुपर्ने आवश्यकता औँल्याए।