सूर्य नेपाल च्यालेन्ज सुरु : दिनेश पहिलो दिन शीर्षस्थानमा

दिनेशले भुवनकुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारे

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन दिनेश प्रजापति ६ अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहेका छन् । दिनेशले भुवनकुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् । भुवन र स्वप्निलले ४ अन्डर ६४ को स्कोर बनाएका छन् । उनीहरू संयुक्त रूपमा दोस्रो स्थानमा छन् । ३ अन्डर ६५ स्कोर बनाएका सञ्जय लामा र रामे मगरले संयुक्त रूपमा चौथो स्थानमा छन् ।

भुवन नगरकोटी र शुक्रबहादुर राई २ अन्डर ६६ स्कोरका साथ छैटौँ स्थानमा छन् । एमेच्योरतर्फ स्वप्निल ४ अन्डर ६४ सहित बलराम पौडेललाई ३ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन् । १ अन्डर ६७ को स्कोरमा बलराम दोस्रो स्थानमा र राष्ट्रिय टोलीका सदस्य राहुल विश्वकर्मा इभन पार ६८ सहित तेस्रो स्थानमा रहे । रोयल नेपाल गल्फ क्लबमा दिनेशले उत्कृष्ट सुरुवात गर्ने क्रममा आठवटा बर्डी प्रहार गरे ।

उनले फ्रन्ट नाइन २ अन्डर ३२ मा सके । यसपछि उनले पाँच बर्डी निकाले । उनी ब्याक नाइनमा ४ अन्डर ३० स्कोरमा रोकिए । भुवनले तेस्रो होलको बोगीका विरूद्ध पहिलो, चौथो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले फ्रन्ट नाइन ४ अन्डर ३० स्कोर गरेका थिए । उनले यसपछि बाँकी नौ होलमा पार बचाउँदै ब्याक नाइन इभन पार ३४ खेले ।

एमेच्योर स्वप्निलले फ्रन्ट नाइन बोगीरहित खेले । दोस्रो होलमा इगलको सफलता प्राप्त गर्दा नवौँ होलको बर्डीले फ्रन्ट नाइन ३ अन्डर ३१ मा सके । १२औँ होलमा बोगी खेपेका उनले १३औँ र १७औँ होलमा एक–एक सट बचाउँदा ब्याक नाइन १ अन्डर ३३ स्कोर गरे । ७२ होलको चार दिनसम्म चल्ने प्रतियोगितामा कुल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो राउन्डको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट १८ प्रोफेसनल खेलाडी तथा सोही कटमा रहने एमेच्योर खेलाडीले अन्तिम दुई दिनका लागि स्थान बनाउनेछन् ।

सुझावित समाचार