देशभर १ लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारको दाबी

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

कृषि, वन तथा वातावरण मन्त्रालयले देशभर हाल १ लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ। मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा. रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए।

उनका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण टेन्डर भइसकेको रासायनिक मल नेपाल आइपुग्न ढिलाइ भएको छ। विशेषगरी ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा देखिएको अवरोध हट्नेबित्तिकै टेन्डर गरिएको ४ लाख ९१ हजार मेट्रिक टन मल नेपाल आउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार पश्चिम एसियाको द्वन्द्वका कारण विगत वर्षको तुलनामा रासायनिक मलको मूल्यसमेत बढेको छ। सहसचिव श्रेष्ठले रासायनिक मल आपूर्ति कहिले सहज हुन्छ भन्ने अनिश्चित रहेकाले किसानलाई प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरे।

उनले माटोको स्वास्थ्य संरक्षणका लागि रासायनिक मलमा मात्र निर्भर नहुन किसानलाई अनुरोध गर्दै सन्तुलित रूपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार