कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ५, सेराटोलका ५० वर्षीय लीलाराम सुनार घाँटी रेटिएको अवस्थामा आफ्नै ओछ्यानमा मृत भेटिएपछि प्रहरीले सुनारकी श्रीमती यशोदा सुनारलाई पक्राउ गरेको छ । लीलाराम मृत्युको खबर लिएर आफैँ इलाका प्रहरी कार्यालय पुगेकी यशोदालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनास्थलबाट खुकुुरीसमेत बरामद गरेपछि हत्या भएको पुष्टि भएको छ। घटनामा अनुसन्धानका लागि प्रहरीले कुकुरसमेत ल्याएको थियो। खुकुरीमा भेटिएको रगत सुँघाएपछि कुकुर महिलातिरै गएको प्रहरी स्रोतले जनाएको छ। मृतक सुनारका आफन्तका अनुसार लीलाराम र यशोदाबिच झन्डै २४ वर्षअघि विवाह भएको थियो। २२ वर्षअघि एक छोरी जन्मिएकी, ती छोरीको विवाह गरिदिएको आफन्तले जनाए। उनीहरूबिच १० वर्षअघि सम्बन्धविच्छेद भएको र चार वर्षदेखि पुनर्मिलन भएको पनि जनाइएको छ । अहिले श्रीमतीले नै हत्या गरेको आशंका गरिएको छ।
श्रीमान्–श्रीमतीबिचको आपसी बेमेल, वैमनस्यताले श्रीमान् (पुरुष)को हत्या भएको आशंका गरिएको छ। तर, प्रहरी नियन्त्रणमा रहेकी यशोदाले हत्या गरेको स्वीकार गरेकी छैनन्। तर, प्रारम्भिक तथ्य प्रमाणका आधारमा अनुसन्धानको सुई यशोदातर्फ नै गएको प्रहरी अधिकारीको भनाइ छ। श्रीमान्–श्रीमती मात्रै बस्ने उक्त घरमा पुरुषको ओछ्यानमै घटना घटेपछि प्रहरीले समेत यशोदातर्फ नै अनुसन्धान केन्द्रित गरेको छ।
यस्तै, गएराति भीमदत्त नगरपालिका– ९, जमुनाभाडीका ४५ वर्षीया गौरसिंह सार्की पनि मृत फेला परेका छन्। आइतबार तोरी पेल्छु भन्दै घरबाट हिँडेका सार्की मृत फेला परेका हुन् । सुनार र सार्कीका घर–परिवारले आ–आफ्न मृत फेला प्रकरणको छानबिन गरेर दोषीउपर कारबाहीको माग अघि सारेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले सुनार मृत फेला प्रकरण घटनाको अनुसन्धान भइरहेको बताए। ‘सुनार मृत फेलादेखि सार्की मृत फेला दुवै प्रकरणमा समेत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शंकास्पद व्यक्ति समूहमाथि निगरानी भइरहेको छ।’