रास्वपा सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि पर्याप्त बजेट छुट्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवेदीले भने, ‘वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन सकेको छैन। यो दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ जनताको जीवनरेखा हो। तर, आजसम्म पनि यो उपेक्षामा परेको छ।’
सांसद सुवेदीले लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक तथा दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडकको अवस्था अत्यन्त दयनीय रहेको भन्दै यी सडकहरूको कमजोर अवस्थाले जनताले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेको बताए ।
‘त्यसैले, आगामी बजेटमा टरिगाउँ विमानस्थल विस्तार र यी रणनीतिक सडकहरूका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गर्दछु,’ उनले भने ।