अतिक्रमण गरी बनाइएका संरचना आफैँ हटाउँदै महेन्द्रनगरका व्यवसायी

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरका केही व्यवसायीले सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना आफैँ हटाउन थालेका छन्। महेन्द्र राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरिया–चिसापानी सडक क्षेत्र अतिक्रमण गरेर बनाएका पक्की तथा अस्थायी प्रकृतिका संरचना हटाउन केही व्यवसायी आफैँ खटिएका हुन्।

३० वैशाखमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले १५ दिने सूचना जारी गरेपछि भीमदत्त नगरपालिका– ३, महेन्द्रनगरको विपिन इन्टरप्राइजेजले सडकमा निर्माण गरेको पेट्रोलपम्प हटाउन लागेको छ। अवैध संरचना हटाउने सूचना जारी भएपछि आफैँले संरचना हटाउन थालेको इन्टरप्राइजेजका सञ्चालक तरुण लखेराले जानकारी दिए। सडकको जमिन नियतले कब्जा नगरेको उनको दाबी छ।

राजमार्गको दायाबायाँ अतिक्रमण भएको २५-२५ मिटर जग्गामा अधिकांश व्यवसायीहरूले संरचना बनाएर वषौँदेखि व्यापार गर्दै आएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले देशभरका अतिक्रमित सरकारी जमिन खाली गर्ने योजना अघि सारेपछि कञ्चनपुरका सरकारी कार्यालय  पनि आफ्नो जमिन खाली गराउन सक्रिय भएका हुन्।

यसअघि भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका पालामा भीमदत्त नगर क्षेत्रको राजमार्गको जमिन अतिक्रमण गरेर बनाएका संरचना हटाइएको थियो। सडक डिभिजन कार्यालयले अतिक्रमित सरकारी जमिन खाली गर्नका लागि विगतमा पनि अल्टिमेटम दिने गरेको थियो। सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारीसमेत रहेका इन्जिनियर हरीश जोशीले सूचना अवधिभर अवैध संरचना नहटाउनेमाथि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

‘हामीले सडकको जमिन अधिक्रमण गरेर बसेकाहरूलाई समय दिएका छौँ,’ उनले भने, ‘उक्त समयावधिमा खाली नगरे स्थानीय जनप्रतिनिधि, प्रशासनसँग समन्वय गरेर खाली गराएरै छाड्छौँ।’ कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म झन्डै १२७ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सडकको जमिन कब्जा गरेर बनाएका संरचनाका कारण दुर्घटनाको जोखिम उच्च छ।

सुझावित समाचार