माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कञ्चनपुरका ६ विद्यालयले एक मात्रै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्। जिल्लाका चार निजी र दुई सरकारी विद्यालयबाट एक–एक विद्यार्थी उत्तीर्ण भएका हुन्।
सरकारी लगानीमा सञ्चालित भीमदत्त नगरपालिका– १५ खैरभट्टीको लक्ष्मी माविले ०८० को एसइई परीक्षामा १३ विद्यालयले शून्य नतिजा ल्याएको थियो। ०८१ मा सुधार गरेको लक्ष्मीले फेरि ०८२ सालमा ६ मध्ये एक मात्रै विद्यार्थी उत्तीर्ण गराउन सकेको हो। सरकारी लगानीमै सञ्चालनमा रहेको बेलौरी नगरपालिका– ९, रतनपुरको त्रिभुवन माविका १४ मध्ये एक मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।
यसैगरी, भीमदत्त– १०, सुकासालको कस्मोपोलिटिन बोर्डिङ स्कुलमा ०८१ को एसइईमा सबै १९ विद्यार्थी अनुत्तीर्ण भएका थिए। अहिले ०८२ मा आठमध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण भए। भीमदत्त–८ तिलाचौरको ज्ञानोदय पब्लिक एकेडेमीबाट सात, शुक्लाफाँटा नगरपालिका– ७ असैनाको कञ्चन सरस्वती इंग्लिस बोर्डिङ स्कुलबाट सात, पुनर्वास नगरको बालबागेश्वरी मावि बुद्धबस्तीबाट २१ जनाले एसइई दिएकोमा सबैबाट एक–एक विद्यार्थी मात्रै उत्तीर्ण भए।
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा सञ्चालित विद्यालयको नतिजा शून्य हुनु दुखद विषय भएको बताए। उनले महाकाली शारदापीठ विद्याश्रमको प्राविधिक त्रुटिले शून्य नतिजा आएको भए पनि सच्याउन पत्राचार गरिएको बताए।
सामुदायिक विद्यालयमा दरबन्दीदेखिका विविध विषयमा ध्यान नदिँदा परिमाण राम्रो नआएको उनकाे भनाइ छ। ‘शून्य नतिजा ल्याउने विद्यालयमा हामीले पत्राचार गरेरै स्पष्टीकरण सोध्छौँ,’ उनले भने, ‘बाँकी कमजोर नतिजा आएका विद्यालयदेखि अन्य सबै विद्यालयका प्रअसँग बैठक राखेर नतिजाबारे समीक्षा राखेर सुधार गर्ने योजना अघि सारेका छौँ।’