मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीनजना प्रहरीकाे नियन्त्रणमा

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका– ४ स्थित एक्लेभट्टीबाट जेठ १ गते राति ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीनजनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लइिएकाहरूमा धादिङ जिल्लाको धुनीबेँसी नगरपालिका– १ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका– २ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथी सोही गाउँपालिका– ३ बस्ने पासाङ शेर्पा रहेको सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

ना.६ख ४७४३ र ना.५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामानहरूमा इलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स (सामान प्याक गर्न प्रयोग गरिने बक्स)समेत रहेको छ ।  नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ ।

नेपाल-चीन सीमा काेदारीबाट भेपसहित सातजना पक्राउ

यसैगरी, नेपाल-चीन सीमा काेदारीमा तैनाथ नेपाल प्रहरीले भेपसहित सातजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काेदारीका इन्स्पेक्टर जगतबहादुर राईकाे कमान्डमा रहेकाे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हाे  ।

जेठ १ गते राति साढे नाै बजे भाेटेकाेशी गाउँपालिका– ३ दशकिलाे खाेलाकाे पुलबाट भेप नियन्त्रण गरिएकाे इन्स्पेक्टर राईले बताए । खासाकाे रमिते, लासाङ हुँदै जंगलकाे बाटाे उनीहरू दशकिलाे पुलमा निस्किएका थिए । भारी बाेकेर आएको देखेपछि प्रहरी टोलीले शंकाकाे आधारमा चेकजाँच गर्दा सबैबाट भेप बरामद भएको थियाे ।

जंगलकाे बाटाे भाेटेकाेशी नदी तरेर चिनियाँ भूभागबाट नेपाल प्रवेश गरेका ती मानिसले बाेकेर ल्याएको नाैवटा बोराले छोपेको कार्टुनभित्र  एक हजार ६२० थान भेप प्रहरीले बरामद गरेकाे छ ।

भेपकाे अन्दाजी मूल्य ५६ लाख ७० हजार पर्ने राईले जानकारी दिए । ‘हामीले भेपसहित समातेका सात मानिसलाई तातोपानी भन्सार कार्यालयमा बुझाएका छाैँ,’ उनले भने ।

प्रहरीले भेप बाेकेर आउने भोटेकोशी-४ बस्ने ३५ वर्षीय गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकाश विक, ४८ वर्षीय  रामबहादुर विक, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र  बाह्रबिसे- ५ बस्ने वर्ष ४२ का कान्छा तामाङलाई नियन्त्रणमा लिएर भन्सारमा बुझाइएको छ ।

See More On

सुझावित समाचार