म्यानचेस्टर सिटीले सिजन २०२५/०२६ को एफए कपको उपाधि जितेको छ । शनिबार लन्डनको वेम्बली रंगशालामा ८३ हजार समर्थकमाझ सिटीले चेल्सीलाई १–० ले हरायो । सिटीको जितमा एन्टोइन सेमेन्योले विजयी गोल गरे । एर्लिङ हाल्यान्डको पासमा उनले खेलको ७२औँ मिनेटमा गोल गरेका हुन् जुन गोल नै खेलको निर्णायक बन्यो । घानाका खेलाडी यसै सिजन सिटीसँग जोडिएका थिए । सिजनको सुरुवातमा प्रशिक्षक पेप ग्वार्डिओलाले गरेको निर्णयमा उनले न्यायसमेत गरेका छन् । बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सफल भएनन् ।
यता, ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले जितेको यो सिजन जितेको दोस्रो उपाधि हो । यसअघि टोली युरोपियन च्याम्पियन्स लिगको उपाधि दाबेदार भए पनि उपाधिबाट वञ्चित भयो । लिग कपको भने उपाधि जितेको छ । यस्तै, टिम प्रिमियर लिगको उपाधिनजिक रहेको छ । तर, सिटीभन्दा आर्सनल शीर्ष स्थानमा रहँदा उसको सम्भावना निकै कठिन मानिन्छ ।
प्रशिक्षक ग्वार्डिओलाले सेमोन्योसँगै हाल्यान्ड र ओमार मामोउसलाई अग्रपंक्तिको जिम्मेवारी दिएका थिए । तर, गोलका लागि टिमले दोस्रो हाफ कुर्नुपर्यो । यस्तै, जेमी डोकु, रोड्री, बर्नान्डा सिल्भाले टिमको मध्यभाग सम्हालेका थिए । योसँगै सिटीले सातौँपटक एफए कपको उपाधि जितेको छ । यस्तै, सिटी आएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले २०औँ उपाधि जिताएका छन् ।
प्रिमियर लिगको पनि सम्भावना
सिटीलाई सिजनको दोस्रो उपाधि जित्ने अवसरसमेत रहेको छ । एफए कप जितेको उसलाई प्रिमियर लिगको उपाधि जित्ने अवसर छ । तर, त्यसका लागि शीर्ष स्थानको आर्सनलको नतिजा गडबडी हुनुपर्नेछ ।
यदि आर्सनल बाँकी खेलमा पराजित भए वा बराबर खेले मात्रै सिटी लगातार च्याम्पियन बन्ने बाटो खुल्नेछ । नत्र २० वर्षपछि आर्सनल च्याम्पियन बन्ने पक्का छ । सिटी बाँकी खेलमा बर्नामाउथ र एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ । प्रिमियर लिगमा दुई खेल बाँकी हुँदा आर्सनलको ७९ अंक छ । दुई अंक कम भएको सिटी दोस्रो स्थानमा छ । ६५ अंकसहित म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ । यो नतिजासँगै युनाइटेड लामो समयपछि च्याम्पियन्स लिगमा छनोट भएको छ ।