- मदन भण्डारी एमालेका नेता मात्र नभई यो देशको कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका समेत नेता हुनुहुन्थ्यो
नेकपा (एमाले)ले जननेता मदन भण्डारी र जीवराज ‘आश्रित’को स्मृति दिवसका सन्दर्भमा हरेक वर्ष ३ जेठमा उहाँहरूको योगदानको चर्चा गर्दै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । वास्तवमा मदन भण्डारी एमालेका नेता मात्र नभई यो देशको कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका समेत नेता हुनुहुन्थ्यो ।
सन् १९९० को दशक सोभियत संघ र पूर्वी यरोपका समाजवादी मुलुकमा ७० वर्षको सोभियत मोडेलको समाजवाद पतनको समय थियो । विश्वका तमाम कम्युनिस्ट पार्टीहरूमा आफ्नो नाम परिवर्तन गर्दै पार्टी विघटन गर्ने एक किसिमको होडबाजी नै चलेको थियो । विश्वभरि नै कम्युनिस्ट आन्दोलनमा चरम निराशा छाएको अवस्था थियो । त्यसवेला विश्वभरिका तमाम पुँजीवादी राजनीतिक पार्टीहरू, पुँजीवादलाई चिरस्थायी बनाउन चाहने तमाम विद्वान् तथा बुद्धिजीवीले विश्वबाट कम्युनिस्ट आन्दोलन मात्र होइन, समाजवाद नै असफल भएको, मार्क्सवादको सान्दर्भिकता सकिएको भन्दै ठुल्ठुला ग्रन्थ नै लेखे । पुँजीवादले अर्को ठुलो विजय हासिल गरेको हल्ला मच्चाइयो । त्यसवेला उनीहरूले विश्वमा कम्युनिस्टलाई उठ्न नदिने महाअभियान नै चलाए ।
सो घटनापछि विश्व पुँजीवादको अगुवा अमेरिकाको एकछत्र हैकम सुरु भयो । ऊ आफूलाई एकल महाशक्ति राष्ट्रका रुपमा उभ्याउन सफल भयो । तर, अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्त प्रतिकूल भएको अवस्थामा पनि विश्वको सुदूरपूर्व चीन र भारतको बिचमा अवस्थित सानो देश नेपालमा भने कम्युनिस्ट आन्दोलन नवीन विचार, नयाँ उत्साह र नयाँ आस्था एवं विश्वाससाथ तीव्र रूपमा फैलँदै थियो ।
त्यसवेला तत्कालीन मालेको ०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनपछि प्रमुख नेता, महासचिव मदन भण्डारीको अगुवाइमा संयुक्त जनआन्दोलनको कार्यनीतिक कार्यदिशा र त्यसको ठोस योजना तयार पारियो । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले मार्गदर्शन गरेको संयुक्त जनआन्दोलनको कार्यनीति, उहाँको कार्यकालमा लागू गर्न नसकिए पनि भण्डारीको नेतृत्वमा त्यसले सफलता हासिल गर्यो । चौथो महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेस तथा अन्य वामपन्थी दलहरूसँग संयुक्त जनआन्दोलनका लागि कार्यगत एकताको प्रस्ताव अगाडि बढायो । निकै ठुलो छलफल र प्रयत्नपछि वाममोर्चा निर्माण र कांग्रेससँग सहकार्यको बाटो खुल्यो । सो आन्दोलनमा कांग्रेसलगायत अन्य वामपन्थी दलको महत्वपूर्ण भूमिका रहे पनि त्यसका प्रमुख डिजाइनर तत्कालीन माले र त्यसका प्रमुख नेता मदन भण्डारी नै रहेको यथार्थलाई विभिन्न घटनाक्रम र तथ्यका आधारमा पुष्टि गर्न सकिन्छ ।
सो आन्दोलनका अनेक उतारचढावमा त्यसलाई सही दिशामा अघि बढाउँदै बहुदलीय व्यवस्था घोषणा, अन्तरिम सरकार गठन, संविधान निर्माण र ०४८ सालको निर्वाचनको तहसम्म पुर्याउन कांग्रेसलगायत तमाम पार्टी र नेताहरूको ठुलो योगदान रहेसँगै भण्डारीको भूमिका प्रत्यक्ष र परोक्ष रूपमा सबैभन्दा उच्च छ । संविधान निर्माणका क्रममा उत्पन्न समस्यालाई सही किसिमले हल गर्न भण्डारीको अगुवाइमा तत्कालीन संविधानबारे २७ बुँदे असहमतिसहित आलोचनात्मक समर्थन गर्ने नीति अपनाइयो । त्यसवेलाको राजनीतिक शक्ति सन्तुलनको परिस्थितिमा त्यो नीति अत्यन्त सही र समयसापेक्ष थियो । पछि ०६२/६३ को दोस्रो जनआन्दोलनको समयमा त्यसवेलाको २७ बुँदे प्रस्तावले सफलता प्राप्त गर्यो ।
०४८ को संसदीय निर्वाचनमा भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी राजधानीका दुई स्थानबाट सानदार जनमतसहित विजय हासिल गर्नुभयो । त्यसवेला एमाले अधिकांश सिनियर नेतासहित देशभरका हरेक निर्वाचन क्षेत्रमा कांग्रेससँगको निकट प्रतिस्पर्धाका आधारमा सशक्त प्रमुख प्रतिपक्षी पार्टी बन्न सफल भयो । त्यसवेला अमेरिकाबाट प्रकाशित हुने महत्वपूर्ण पत्रिका न्युज विकले ‘कार्लमार्क्स लिभ इन नेपाल’ भनेर प्रमुख महत्वसाथ समाचार प्रकाशित गर्यो । देश–विदेशका तमाम सञ्चारमाध्यममा नेपाली राजनीतिको बढ्दो वामपन्थी प्रभावले ठुलो महत्व पायो ।
निर्वाचनपश्चात् त्यसवेला कलकत्तामा भएको कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय सेमिनारमा मदनद्वारा गरिएको सम्बोधन तथा उपस्थित विभिन्न देशका प्रतिनिधिसँगको छलफलका क्रममा उहाँ सबैभन्दा आकर्षक व्यक्तित्वका रूपमा स्थापित हुनुभयो । सो सेमिनारमा उहाँले जनवादी चरणमा मात्र होइन, यसपछिको समाजवादी चरणमा समेत लोकतान्त्रिक प्रणालीका आधारमा अघि बढ्नुपर्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
पहिलो र दोस्रो विश्वयुद्धको अवधिमा संसारका अधिकांश कम्युनिस्ट पार्टीले शस्त्रबलका आधारमा प्रतिक्रियावादी शक्तिलाई पराजित गरेर कम्युनिस्ट पार्टीको एकल सरकार सञ्चालन गर्ने, त्यसलाई सर्वहारा वर्ग अथवा जनताको जनवादी अधिनायकत्वका रूपमा शासन चलाउने र भिन्न विचारलाई प्रतिक्रियावादीका रूपमा हेर्नेजस्ता तमाम मान्यताको विकल्पमा नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा जनताको बहुदलीय जनवादी मान्यताको विकास भएको थियो । ‘हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन, बरु कामका लागि मार्गदर्शन हो,’ भन्ने स्वयं मार्क्स–एंगेल्सको भनाइअनुसार परिवर्तित विश्व परिस्थिति र नेपाली ठोस विशेषतामा आधारित भएर भण्डारीले जबजको नवीन मान्यता अघि सार्नुभएको थियो ।
मार्क्सवादका केही आधारभूत मान्यतामा दृढतापूर्वक उभिँदै समय र परिस्थितिको सापेक्षताअनुसार नीति, विचार र आफ्ना तमाम व्यावहारिक विषयमा नयाँ परिमार्जन र विकास गर्न सकिएन भने त्यो आस्थाका आधारमा माला जप्ने सिद्धान्त मात्र साबित हुन्छ, तर त्यसले जनताको जीवन परिवर्तन गर्न सक्तैन । त्यसैले, भण्डारीले ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्नेमा जोड दिनुभयो ।
त्यसवेला, एमालेको आन्तरिक जीवनमा मात्र होइन, सार्वजनिक रूपमै गम्भीर बहस र विचार–विमर्शपछि विभिन्न वैचारिक विषयवस्तु र मूल्य–मान्यतालाई एकीकृत गर्दै त्यसलाई ‘जनताको बहुदलीय जनवाद’ नामकरण गरिएको थियो । त्यसको सार पक्ष भनेको नेपाली समाजको क्रान्तिकारी परिवर्तन थियो भने सो परिर्वतन मूलतः शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक प्रणालीका आधारमा सम्पन्न गर्ने मान्यता थियो । त्यसअन्तर्गत केवल कार्यक्रमिक विषयवस्तु मात्र नभई कतिपय नीति, विचार, पार्टी निर्माण तथा तमाम मूल्य–मान्यता अघि सारिएका थिए ।
नेपाली समाजलाई जनताको जनवादी चरण हुँदै समाजवाद र साम्यवादको लक्ष्यमा पुर्याउन बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, कानुनको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतप्राप्त दल सत्तापक्ष र अल्पमतको प्रतिपक्ष, जनताको राज्यसत्ता, राष्ट्रिय हितलाई ध्यानमा राख्दै बाह्य पुँजी र प्रविधिको उपयोग, समानतापूर्ण र न्यायपूर्ण समाजवादी चरणमा पुग्नका लागि त्यसको आधारका रूपमा जनताको बहुदलीय व्यवस्था स्थापना, जनवादी व्यवस्थामा पर्याप्त उत्पादक शक्तिको विकासका लागि पहिलो उपचरणमा सामन्तवादका अवशेषको अन्त्य, दोस्रोमा जनवादी व्यवस्थाको सुदृढीकरण र तेस्रोमा, समाजवादमा संक्रमणका तीन उपचरणको चर्चा गरिएको छ ।
जनवादी चरणमा सार्वजनिक, सहकारी र निजी स्वामित्वमा आधारित तीनखम्बे अर्थतन्त्रको नीति तथा नेपालको अर्थतन्त्रलाई नोकरशाही पुँजीवादको नियन्त्रणबाट मुक्त गरी राष्ट्रिय पुँजीको विकास, सामन्ती भू–स्वामित्वको सम्पूर्ण रूपमा अत्य गर्दै आधुनिक र वैज्ञानिक कृषि प्रणालीको विकास, शिक्षा–स्वास्थ्यलगायत तमाम क्षेत्रमा आमजनताका आवश्यकतालाई प्राथमिकतामा राखेर नयाँ नीति र योजना बनाउने विषय समेटिएका छन् ।
जनवादी चरणमा गरिने उपर्युक्त तमाम विषय समाजवादको बलियो आधार निर्माण गर्ने आवश्यक मात्र होइनन्, अनिवार्य विषय हुन् । यसरी प्राप्त गर्ने समाजवाद समानतामा आधारित समृद्ध, सुखी र लोकतान्त्रिक हुनुपर्ने जबजको महत्वपूर्ण मान्यता हो । भण्डारीले राज्यसत्ताको लोकतान्त्रीकरणसँगै पार्टीको लोकतान्त्रीकरणमा पनि उत्तिकै जोड दिनुभएको थियो । पार्टी सञ्चालनका सन्दर्भमा सामूहिक नेतृत्व, सामूहिक बुद्धि र सामूहिक प्रयत्नलाई अनिवार्य बनाइएको छ भने पार्टीमा भिन्न मतप्रतिको सहिष्णुता र सम्मानसँगै बहुमतको निर्णय कार्यान्वयन गर्नुपर्ने, जनवादमा आधारित केन्द्रीयता, पार्टीमा निर्बाध रूपमा आफ्ना विचार प्रस्तुत गर्ने स्वतन्त्रताबारे स्पष्ट पारिएको छ । पार्टीमा एकल र व्यक्तिवादी नेतृत्व, आत्मप्रशंसा, गुटगत क्रियाकलाप, अनैतिकता, भ्रष्ट आचरणजस्ता तमाम गलत चिन्तन र प्रवृत्ति हटाउन निरन्तर अन्तरपार्टी संघर्ष सञ्चालन गर्ने विषयमा भण्डारीको जोड रहेको थियो ।
भण्डारी सच्चा मार्क्सवादी नेतासँगै लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध तथा सच्चा देशभक्त, देश र जनताप्रति इमानदार व्यक्ति हुनुहुन्थ्यो । सिद्धान्त र व्यवहारबिचको तालमेल, पार्टीको विचारअनुकूलको आचरण तथा कार्यशैली र राजनीतिलाई जनताको सेवा ठान्ने सच्चा जनवादी नेता मुलुकले पाएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा एकातिर मार्क्सवादलाई जडसूत्रका रूपमा कार्यान्वयन गर्न खोज्ने प्रवृत्ति र अर्कातिर त्यसको सिर्जनात्मक प्रयोगको बहानामा मार्क्सवादका आधारभूत वैज्ञानिक सच्चाइलाई त्याग्दै पुँजीवादी नवउदारवादको पिछलग्गु बन्दै जाने चिन्तन र प्रवृत्तिविरुद्ध उहाँ निरन्तर संघर्षरत रहनुभयो । उहाँले पार्टीमा आफ्नो निहित स्वार्थका लागि निजी मान्छेको कोटरी बनाउने प्रवृत्तिको विरोध गर्दै पार्टीका हरेक नेता र कार्यकर्तालाई उनीहरूको गुण र दोषका आधारमा आपसी निकटता र दूरी कायम गर्दै योग्य, सक्षम र इमानदार व्यक्तिलाई प्रेरित र प्रोत्साहित गर्ने परिपाटीमाथि जोड दिनुभयो ।
मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि पार्टीका नेता तथा कार्यकर्ता स्थानीय तहदेखि केन्द्रसम्म राज्यका विभिन्न तहमा रहेर काम गर्ने अनुकूल अवसर प्राप्त भयो । बदलिएको नयाँ परिस्थितिमा कतिपय व्यक्तिहरू निजी स्वार्थ र लोभबाट मुक्त भएर काम गर्ने हुन् या होइनन् भन्ने प्रश्न उठेका वेला उहाँले हाम्रो वास्तविक परीक्षा त अब सुरु हुन्छ भन्दै विगतमा जस्तै आगामी दिनमा पनि स्वार्थ त्यागको भावनाका आधारमा अघि बढ्न प्रेरित गर्नुहुन्थ्यो ।
नेपाली जनताले कम्युनिस्टलाई पटक–पटक सत्तामा पुग्ने अवसर दिए । विभिन्न समयमा महत्वपूर्ण काम पनि भए, तर नेतृत्वमा रहेका केही सीमित व्यक्तिको चरम गुटबन्दीपूर्ण क्रियाकलाप र आत्मकेन्द्रित चिन्तन र प्रवृत्तिका कारण अन्तिम अवस्थामा आइपुग्दा पार्टीले गम्भीर धक्का खानुपर्ने अवस्था उत्पन्न भयो ।
यसपटकको असफलता भनेको मदन भण्डारीको विचार तथा मूल्य–मान्यता, कम्युनिस्ट विचारधारा र जनताको बहुदलीय जनवादको असफलता नभई मूलतः त्यसलाई ठिक किसिमले व्यवहारमा कार्यान्वयन गर्न नसक्ने र गुटगत संकीर्णता तथा आत्मकेन्द्रित चिन्तनबाट ग्रस्त नेतृत्वका कमजोरीको समग्र परिणाम हो । यसपटकको यो धक्का एउटा दुःखद घटना भए पनि यसबाट गम्भीर शिक्षा लिन सकियो भने मदन भण्डारीको सपना अवश्य साकार हुनेछ । जननेता मदन भण्डारी र जीवराज ‘आश्रित’प्रति हार्दिक श्रद्धाञ्जली !