ओपनर कुशल भुर्तेलको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग २ को खेलमा अमेरिकामाथि सहज जित हात पारेको छ।
शनिबार टियू मैदानमा नेपालले अमेरिकामाथि ९ विकेटको जित हात पारेको हो। अमेरिकाले दिएको १९६ रनको मध्यम लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
जितपछि नेपाल ८ राष्ट्र सहभागी लिग २ मा २० अंकका साथमा सातौँ स्थानमा छ। अमेरिका भने पराजित हुँदै ३६ अंकका साथ दोस्रो स्थानमा यथावत् छ।

नेपालको जितमा ओपनर कुशलले ११८ बलमा १३ चौका र ४ छक्कासहित सर्वाधिक १२० रन बनाए। कुशलले पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर १४५ रनको शतकीय साझेदारी गरेका थिए। आसिफ ७२ बलमा ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए।
यसै खेलबाट ओडिआई डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे।
अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८३ रन बनाए। सेहान जयसुर्याले ५२ बलमा ५० रनको योगदान गरे।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए।