रातो मत्स्येन्द्रनाथ रथ जात्रा मिथक र महत्व

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

ललितपुर, पाटनका हरिराम जोशीले २०१९ सालमै संस्कृतिमा स्नातकोत्तर गरेका हुन् । उनको करिब तीन दर्जन पुस्तक प्रकाशित छन् । उनको नेपाली संस्कृति (२०८२), प्राचीन नेपाल (२०२२), बहिनी पूजा (२०१५), उत्तर प्राचीनकालीन मुद्रा (२०३३), हाम्रो संस्कृति (२०३७), अभिनव वेदादि कोष (२०७६) जस्ता पुस्तक प्रकाशित छन् । जोशीले ‘रोलम्बा जर्नल’को तीन दशकभन्दा बढी समयसम्म प्रधान सम्पादक भएर काम गरिसकेका छन् । उनीसँग नेपालको सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथ रथ जात्राको मिथक र महत्वबारे शान्ति तामाङले कुराकानी गरेकी छिन् :

रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःबारे विभिन्न मिथक छन् । ती मिथकमध्ये कतिपय अझै प्रचलनमा छन् । यी मिथकले रातो मत्स्येन्द्रनाथको उत्पत्ति, विकास, यसको निरन्तरताबारे बताउँछन् ।

लिच्छविकालको अन्त्यतिर तथा मल्लकालको सुरुवाततिर १२ वर्षसम्म उपत्यकामा पानी परेन । सबैतिर हाहाकार भयो । गुरु गोरक्षनाथले नवनागलाई आसन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । पानी पार्ने अवस्था बनाउन रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो ।

त्यसपछि भक्तपुरका राजा, काठमाडौंका बन्धुदत्त आचार्य र ललितपुरका रथचक्र–ललित ज्यापु रातो मत्स्येन्द्रनाथ लिन भारतको आसाम गए । त्यतिवेला आसाममा ‘राक्षस’हरूको राज्य रहेको मानिन्छ । मत्स्येन्द्रनाथ पनि ‘राक्षस’ कुलकै मानिन्छन् । त्यहाँको राक्षसले उनीहरूमाथि हमला गरेका थिए । तान्त्रिक बन्धुदत्त आचार्यले आफ्नो कलाको माध्यमबाट मत्स्येन्द्रनाथ ल्याउन सफल भएको मानिन्छ ।

धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याइएको थियो । जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उनको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि ठुलो वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकाले लोकेश्वर भनेर पुकारिनुका साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।

रातो मत्स्येन्द्रनाथ नेपाल ल्याएपछि कहाँ राख्ने भन्ने विवाद भयो । आसाम पुगेका तीनैजनाले तीन मत अर्थात् आ–आफ्नै ठाउँमा राख्ने प्रस्ताव गरे । त्यसपछि सबैभन्दा ज्येष्ठ नागरिकको मतका आधारमा मत्स्येन्द्रनाथलाई पाटनमा राख्ने निष्कर्ष भयो । राय दिनेबित्तिकै ज्येष्ठ नागरिकको मृत्यु भयो । त्यसपछि तीनै सहरमा मत्स्येन्द्रनाथ घुमाउने र देवताले कहाँ बस्न खोज्छन्, त्यहीँ राख्ने निष्कर्ष भयो । रथ घुमाउन थालियो । रथ घुमाउने क्रममा धोबीघाट आइपुग्दा रात पर्यो । त्यो दिन धोबीघाटमै रथ राखियो । त्यस क्रममा पाटनका मानिसले बेइमानी गरे भन्ने छ । त्यतिवेला पाटनका १०–१२ जना मानिस कुकुरको भेषमा आएर त्यो रथलाई पाटनतिरै फर्कादिए । रथले पाटनतिर हेरेको देखेपछि काठमाडौंका मानिस मत्स्येन्द्रनाथ पाटनमै बस्न खोजेको ठानेर रथ छाडेर हिँडे ।

धोबीघाट हुँदै रथ पुल्चोक, सुन्धाराको चौबाटो पुगेपछि फेरि त्यहाँका मानिसले पनि पाटनतिर फर्काइदिए । त्यसपछि भक्तपुरका मानिस पनि मत्स्येन्द्रनाथ पाटनमै बस्न खोजेका हुन् भन्ने सोचेर रथ छाडेर हिँडे । त्यसैले, अहिले गाबहालको जात्रालाई काठमाडौंको जात्रा, सुन्धाराको जात्रालाई भादगाउँलेको जात्रा र लगनखेलको जात्रालाई पाटनको जात्रा भनिन्छ ।

तर, यो कथाबारे मेरो फरक मत छ । रातो मत्स्येन्द्रनाथलाई भारतको आसामबाट ल्याइएको भने पनि यो कथा मात्र हो । यसको लिखित इतिहास अहिलेसम्म भेटिएको छैन । प्रत्येक वर्ष बुंगमतीमा मछिन्द्रनाथ लिन जाने गरिएको छ । रातो मत्स्येन्द्रनाथलाई बुंगद्यः पनि भनिन्छ । बुंगद्यः भनेको सानो कुवा वा इनार हो । बुंगद्यःबाट नै बुंगमती नामकरण भएको हो । त्यसैले, रातो मत्स्येन्द्रनाथको उत्पत्तिस्थल बुंगमती नै हो । मलाई लाग्नेचाहिँ रातो मत्स्येन्द्रनाथ बुंगमतीकै देवता हुन् ।

अहिलेसम्म मत्स्येन्द्रनाथलाई आसाम लिन गएको थाहा छैन । आसाममा रातो मत्स्येन्द्रनाथ अर्थात् बुंगद्यःबारे केही अभिलेख पाइएको जानकारी पनि छैन । आसामलाई कथामा मात्र ल्याइएको हो । तर, बुंगमतीबाट ल्याउन थालेको पनि कथा नै हो ।

मत्स्येन्द्रनाथ माझी समुदायका व्यक्ति थिए पनि भनिन्छ । माझी समुदायका भएकाले रथ जात्राका क्रममा लगनखेलमा नरिवल खसाल्ने दिनमा मत्स्येन्द्रनाथका पुजारी अर्थात् पानेजुले लगनखेलमा पानी नभएकै ठाउँमा पनि दुइटा माछा समातेर लैजाने प्रचलन छ ।

रातो मत्स्येन्द्रनाथ रसिक देवता पनि हुन् । महिलाप्रति धेरै झुकाव भएका देवता पनि भनिन्छ । कीर्तिपुरमा उनको महिला साथी छन् । उनलाई पूजा गरेर राखिएको छ । जाउलाखेलबाट रथ तान्ने अघिल्लो दिन अहिले पनि यहाँबाट मछिन्द्रनाथलाई बुंगमती लैजाने भयो भन्ने जानकारी गराउन एक भारी रोटी लिएर पानेजुहरू जानकारी गराउन जान्छन् ।

यसरी जोडियो भोटो 
नेपाल खाल्डोको पानी कटिसकेपछि बनेको टौदहको प्राकृतिक ताल अर्थात् दह हो । टौदहमा कर्कोटक नागराज बस्थे । एक दिन नागराजकी रानीको आँखा दुख्छ । नागराजले रानीको औषधि गराउन भनेर मान्छेको रूप धारण गरी वैद्य भेट्न आए । आफ्ना समस्या राखेर वैद्यलाई रानीकोमा लिएर गए । बिरामी रानीको उपचार गरे । रानीको आँखा ठिक भयो । रानीको आँखा ठिक भएपछि नागराजले हर्षित भएर हिरामोतीजडित भोटो उपहार दिए । भोटो बोकी घर फर्केर आउँदा वैद्यलाई पिसाब लाग्यो । त्यो भोटो राखेर पिसाब फेर्नतर्फ लाग्दा चोरले भोटो चोरेर भाग्यो । जाउलाखेल पुगेपछि चोर समातियो । त्यतिवेला रातो मत्स्येन्द्रनाथको रथ राखेर पूजाआजा भइरहेको थियो । त्यही वेला भोटोको मालिक पत्ता लगाउन देउताका अगाडि सत्य वाचा गराउने भनियो ।

दुईजनामध्ये जसले सत्य बोल्छ, उसैलाई भोटो दिने भन्ने भयो । चोरले चोरेकै भएर भोटो आफ्नो भन्ने हिम्मत गरेन । वैद्यलाई पनि त्यो भोटोप्रति आशंका लागेर आफ्नो भन्न सकेनन् । त्यसपछि भोटो मत्स्येन्द्रनाथकै जिम्मा लगाइयो । त्यहीअनुरूप भोटो देखाउने प्रचलन सुरु भयो । यो करिब सात सय वर्षपहिलेको कुरा हो । 

यो रथ तान्ने जात्रा मात्र होइन, मानिसलाई एकतामा बाँध्ने तत्व पनि हो । यो पर्व हिन्दु, बौद्ध, शैव सबैले मनाउँछन् । यो जात्राले मानिसलाई एकतामा बाँधेको छ । एकताको लागि यस्ता पर्वले काम गरिरहेको छ । त्यसैले जात्रालाई कथाका रूपमा मात्र होइन, राष्ट्रिय महत्वका रूपमा स्थापित गर्नुपर्छ । 

सुझावित समाचार