समयको साक्षी सालिक

देशमा हुने राजनीतिक परिवर्तनको प्रतिबिम्ब सालिकहरूमा देखिन्छ

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

कुनै राजनीतिक समूहले निर्माण गरेको सालिक एकाध वर्ष बित्दा फेरि अर्को समूहले भत्काउँछ । सालिक भत्काउने समूह सत्तामा पुग्छन्, र आफ्नो पक्षको सालिक ठड्याउँछन् । एउटा समय भएपछि उनीहरू फेरि सत्ताबाट ओर्लिन्छन् । उनीहरूको पक्षले बनाएको सालिक फेरि अर्को समूहले भत्काउँछन् । एक दृष्टिबाट हेर्दा देशमा हुने राजनीतिक रस्साकस्सीको प्रतिबिम्ब सालिकमा देखिन्छ । सालिक समयको साक्षी बनिरहेका छन् ।

सालिक कुनै विशिष्ट व्यक्ति, ऐतिहासिक पात्र, वा सहिदको सम्मान, स्मरण र पहिचानका लागि ढुंगा धातु, माटो वा अन्य सामग्रीबाट बनाइएको प्रतिमूर्ति हो । विशेषतः सम्मान, ऐतिहासिक महत्वलगायत कारण सालिक निर्माण हुन्छ । सोहीअनुरूप बाँकेको नेपालगञ्ज उपमहानगरभित्र जेन–जी आन्दोलनका क्रममा सहिद भएका दुई सहिदको अर्धकदको सालिक अनावरण भएको छ । वैशाख १८ गते शुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको हो । नेपालगञ्ज धम्बोझीका यी युवाको जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सहादत भएको थियो ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा उपमहानगरपालिकाभित्रै सहिद सेतु विक, कांग्रेस नेता बिपी कोइराला, गणेशमान सिंह, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिक तोडफोड भएको थियो । उपमहानगरपालिकाले तोडफोड भएका सहिद र नेताका सालिक पुनः निर्माण गरिसकेको छ । गत भदौमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे टंकमणिको सालिकको अनावरण भयो । नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डले सालिक अनावरण गरेका थिए । टंकमणि अखिल क्रान्तिकारीका महासचिव हुँदै माओवादी जनयुद्धका क्रममा सैन्य ब्युरो सदस्य थिए ।

गत वर्षकै वैशाखमा चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालको पहिलो सहिद लखन थापाको सालिक निर्माण गरिएको छ । सालिक निर्माणका लागि महानगरपालिकाले ११ लाख ४९ हजार खर्च गरेको थियो । गत वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सालिक निर्माण भएको छ । किराँती राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको प्रतिमासहितको यलम्बर पार्क (उद्यान) निर्माण भएको हो । कोशी प्रदेश सरकारको ७० र नगरपालिकाले ३० प्रतिशत लगानी गरी करिब १४ करोड लागतमा फाइबर प्रयोग गरेर पार्क निर्माण गरिएको हो ।

गत वर्ष नै बागलुङमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । ३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा उक्त सालिक अनावरण गरिएको हो । २०७९ असार १७ गते प्रकाश दाहालको सालिक नुवाकोटको ककनीमा निर्माण भयो । १७ गते तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सालिक अनावरण गरेका थिए । नेपाल पर्वतारोहण संघ र ककनी गाउँपालिकाले संयोजनमा सालिक निर्माण भएको थियो ।

०७५ सालमा बैतडीमा पृथ्वीनारायण शाहको २१ फिट अग्लो सालिक निर्माण भएको छ । यो सालिक दशरथ चन्द नगरपालिकाले निर्माण गरेको हो । एक करोड लागतमा सालिक निर्माण गरिएको हो ।

यी पछिल्लो समय निर्माण गरिएका केही सालिकका उदाहरण हुन् । ०६२/६३ र मधेश आन्दोलनका क्रममा पनि धेरै सालिक फोडिए । ०६४ साल जेठ ३ गते तत्कालीन माओवादीले तोडफोड गरेको पृथ्वीनारायण शाहको सालिक ०७० माघ महिनामा गोरखामा निर्माण भयो । गोरखा नगरपालिका–१ मा रहेको गोरखा संग्रहालयपरिसरमा ६ वर्षपछि सालिक ठड्याइएको हो । पुरातत्व विभागको पहलमा ६ महिना लगाएर यो सालिक निर्माण भएको थियो ।

०७८ मा झापाको भद्रपुरस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक मध्यराति तोडफोड भयो । चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुर–९ मा रहेको देवकोटाको अर्धकदको सालिक अज्ञात समूहले तोडफोड गर्यो । तीन वर्षअघि कञ्चनपुरको महेन्द्रनगरमा सहिद भीमदत्त पन्तको सालिक तोडफोड भयो । राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यानभित्र प्रवेश गरेर सहिद पन्तको सालिक तोडफोड भएको थियो ।

०७९ वैशाखमा हटौंडा उपमहानगरपालिका–९ मा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड भयो । अज्ञात व्यक्तिले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए । ०७९ मै नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि आक्रोशित समूहले न्युरोडस्थित सहिद सेतु विकको सालिक तोडफोड गर्यो । सहिद विकको सालिकमाथि यो दोस्रोपटक आक्रमण भएको थियो । यसअघि पनि मध्यरातमा आगो लगाएर सालिक फुटाइएको थियो ।

सालिक निर्माणका साझेदार स्थानीय तह 
पछिल्लो दशक सालिक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । यसका लागि स्थानीय तह लगानीकर्ताजस्तो भएको देखिएको छ । ०७४ मा निर्वाचित धेरै जनप्रतिनिधिले सालिक निर्माणमा विभिन्न तह र तप्कासँग लागत साझेदारी गरेका छन् । कतिपय अवस्थामा प्रदेश र संघलाई समेत बजेट व्यवस्था गरिदिन आग्रह गरेको देखिन्छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार समुदायले अपनत्व लिएको, इतिहास उजागर गर्ने विषय, परम्परादेखि चलेको र इतिहास जीवित राख्नुपर्छ भन्ने विषय आयो भने सालिक निर्माण हुन्छन् ।

‘सालिक निर्माणका लागि कतिपय सन्दर्भमा ऐतिहासिक व्यक्ति, ठाउँलाई देखाएर समुदायले माग गर्छन् । कतिपय अवस्थामा महत्वपूर्ण विषय बचाउनुपर्छ, उजागर गर्नुपर्छ भनेर वडादेखि नै योजनामा परेर आउँछन्,’ पाण्डे भन्छिन्, ‘हामीले औचित्य देखेनौँ भने योभन्दा राम्रो अरू गर्नु छ पनि भन्छौँ ।’ पहिले नै निर्माण भएका सन्दर्भमा भने स्थानीय तहले प्राय संरक्षणका नाममा काम गर्छ । धेरै महत्वपूर्ण व्यक्ति वा विषयमा सालिक निर्माण गर्नुपर्ने अवस्थामा स्थानीय तहले प्रदेश र केन्द्रलाई समेत सिफारिस गर्ने गरेको उनले बताइन् । ‘इतिहास बचाउन जगेर्ना गर्नुपर्छ । स्थानीय मान्यता, परम्परा, पर्यटन भित्रिने जस्ता विषय, छुट्टै महत्व बोकेको विषय भएमा सालिक निर्माण गर्नुस्, होइन भने लगानी नगर्नुस् भन्छौँ,’ उनी भन्छिन्, ‘मूल्य, मान्यता हेरेर प्रदेश, संघमा पनि प्रस्ताव गर्छौं । अति महत्वपूर्ण कुरा छ, तर ओझेलमा परिरहेको छ । समुदायले सम्बन्धित विषयले इतिहास जोगाउँछ भनेमा प्रवर्द्धन गर्छौं । संघलाई पनि सिफारिस गर्छौं । सिफारिस भएपछि छनोट पनि भएका छन् ।’

तर, पछिल्लो समय भने सालिक निर्माण कम भएको उनको दाबी छ । ‘०७४ सालको हाम्रो कार्यकालमा धेरै सालिक निर्माण भएका थिए । यो कार्यकालमा त्यति धेरै निर्माण भएका छैनन् । संघ, महासंघका तर्फबाट पनि उनुत्पादक क्षेत्रमा लगानी नबढाऔँ भनेर सर्कुलर जारी गरिरहेका हुन्छौँ,’ उनले भनिन् ।

सालिक निर्माणले शासकको प्रभुत्व फैलाउने 
सालिक निर्माणको सन्दर्भमा अध्येता राजेन्द्र महर्जन भने फरक मत राख्छन् । उनी सालिक निर्माणको अधिकांश क्रम शासकले आफ्नो वर्चस्व र प्रभुत्व फैलाउनकै लागि गरेको बताउँछन् । ‘सालिक निर्माणको इतिहास हेर्दा मैले गज्जबको शासन गरेँ भनेर प्रचार गर्न, देशको लागि सक्षम मान्छे म नै हुँ, तिमीहरूलाई संरक्षण गर्ने म नै हुँ भन्ने अहंकार, प्रचारबाजीका लागि सालिक निर्माण भएको थियो । अहिले पनि त्यस्तै छ,’ उनले भने, ‘त्यसको काउन्टरमा बिस्तारै संघर्ष गरेका मान्छेको पनि सालिक बनाउन जरुरी छ भनरे काउन्टर भाष्य निर्माणका लागि सालिक बने । त्यसको सकारात्मक पाटो भनेको राज्य सञ्चालकको प्रभुत्वविरुद्ध लडेकाहरूको योगदानलाई कदर गर्नुपर्छ भन्ने भएको छ ।’

पछिल्लो चरणमा भएको सालिक निर्माण जुन ढंगको बाढी आएको छ, त्यो बाढीले मूलतः बजेट बाँडफाँडका कुरा, बजेटसँग जोडिएको स्वार्थ देखिएको उनको बुझाइ छ । ‘आफ्नो गाउँठाउँको, समुदायको पनि प्रतीक स्थापना गर्ने, त्यसका आधारमा पर्यटकीय क्षेत्र बनाउने भन्ने पनि देखिन्छ,’ उनी भन्छन्, ‘अहिलेको सालिक निर्माणको क्रम आफ्नो संस्कृति, सभ्यतालाई पुनर्स्थापना गर्ने, बचाउने भन्दा स्थानीय तहको स्वार्थमा केन्द्रित छ कि भन्ने प्रश्न छ । मठ, मन्दिर, सालिकको निर्माणमा जसरी बजेट खन्याउने काम भएको छ, यसमा प्रश्न गर्नुपर्ने अवस्था छ ।’

सालिक निर्माण हुँदै जाँदा शिक्षा, स्वास्थ्य, रोजगार, विकास, आममानिसका जनजीविकाको सवाल हराएको उनको दाबी छ । ‘पहिचान, संस्कृति, सभ्यता बचाउने कुरा गर्नैहुँदैन भन्ने होइन,’ उनी भन्छन्, ‘मुखमा माड छैन, सालिक उठाउँदै हिँड्ने हो भने त्यतिवेलाको स्थानीय तह प्रमुख, मन्त्री वा प्रधानमन्त्रीको नाक जोगिएला, तर त्यही सालिक हेरेर मान्छेको पेट भरिँदैन । यसले मान्छेको संस्कृति, सभ्यताको विकास पनि हुँदैन ।’

दुई दशकयता सालिक निर्माणका काम मात्र भएका छैनन् । भत्काउने, तोडफोड गर्ने गतिविधि पनि उत्तिकै भएका छन् । यस्ता नकारात्मक कार्य उचित नभएको उनको तर्क छ । ‘आलोचनात्मक रूपमा लेख्न सकिन्छ, बोल्न सकिन्छ । अर्को सालिक, अर्को मूर्ति वा विचार स्थापना गर्न सकिन्छ । आन्दोलनका क्रममा हिंसात्मक, संकीर्ण खालको अवस्था आउँछ । त्यो राम्रो होइन, त्यो मानवीय र लोकतान्त्रिक हुँदैन,’ उनले भने । 

See More On

सुझावित समाचार