चलचित्र ‘रोल नं. १’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक ट्रेलरले चलचित्र बालमनोविज्ञानमा आधारित रहेको संकेत गरेको छ।
छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुबाको चाहना, तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ। परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा ट्रेलरमा देखाइएको छ।
पुरानै सोचमा जकडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ। घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण सानासाना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई चलचित्रले देखाएको छ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र जेठ १५ गते प्रदर्शनमा आउँदै छ। जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो चलचित्रको डीओपी शिवराम श्रेष्ठ रहेका छन्।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्। मदन घिमिरे सम्पादक रहेका चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ।