बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १ जेठ राति ११ः५९ बजेदेखि अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो । प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्रि–बजेट छलफल सुरु गर्ने तयारी गरिएको उनले बताए ।

प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्ने संवैधानिक व्यवस्था छ । सरकार आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै प्रशासनिक तथा नीतिगत तयारीमा जुटेको जनाएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भए पनि लामो समयसम्म नियमावली नबन्दा कर्मचारी व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमा अन्योल देखिँदै आएको थियो । सरकारले अब उक्त प्रक्रिया टुंगो लगाएको मन्त्री तामाङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा हाल काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई हेटौँडामा स्थानान्तरण गर्ने निर्णय गरिएको छ । प्रदेशस्तरीय स्वास्थ्य सेवा तथा तालिम व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्णय गरिएको सरकारको भनाइ छ ।

मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा वातावरण संरक्षण ऐन संशोधन विधेयक प्रदेश सभामा पठाउनुअघि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्न बनेको विधेयक पनि थप अध्ययन तथा छलफलका लागि मन्त्रिपरिषद्को समितिमा पठाइएको प्रवक्ता तामाङले बताए ।

See More On

सुझावित समाचार