जालपादेवी केबलकार दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माणकार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजना निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित भएको बताए । उनले जालपादेवी केबलकार पनि निर्धारित समयमै सञ्चालनमा आउने बताए ।

‘निजी क्षेत्रले जिम्मा लिएका परियोजना तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्दै आएको छ,’ ढकालले भने, ‘हामीले करिब ११ महिना पहिले जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ । यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदै छौँ ।’

आइएमई समूहले कैलालीको लम्कीचुहा नगरपालिका– ३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका– ७, राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार निर्माण गरिरहेको छ । कुल पाँच अर्ब रुपैयाँ लगानी रहेको परियोजनामा बटम स्टेसनमा होटेल, क्यासिनो, ब्यांक्वेट हललगायत संरचना निर्माण गरिनेछ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेस्टुरेन्ट तथा बाल उद्यानलगायत पर्यटकीय पूर्वाधार विकास गरिने कम्पनीले जनाएको छ । अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा लगानी विस्तार नगरी नेपालले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न नसक्ने बताउँदै पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्ने बताए । 

सुझावित समाचार