बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले केअर स्टारमर नेतृत्वको लेबर सरकारबाट राजीनामा दिएका छन् । योसँगै दुई वर्षभन्दा छोटो समयमै स्टारमर अपदस्थ हुने जोखिम थप बढेको छ । बेलायतमा गत साता सम्पन्न स्थानीय चुनावमा लेबरले विनाशकारी नतिजा हासिल गरेपछि स्टारमरलाई पद छोड्न दबाब बढ्दै गएको छ ।
४३ वर्षीय स्ट्रिटिङले बिहीबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै ‘अब स्टारमरको नेतृत्वमा विश्वास नरहेकाले सरकारमा रहन नसकेको’ बताएका छन् । साथै उनले पछिल्लो चुनावी हारको प्रमुख कारक पार्टीको अलोकप्रियता रहेको’मा कुनै शंका नरहेको लेख्दै अगाडि भनेका छन्, ‘अब स्पष्ट भइरहेको छ कि तपाईं (स्टारमर)ले अर्को आमनिर्वाचनमा लेबर पार्टीको नेतृत्व गर्नुहुनेछैन ।’
घोषणामा धेरै आंशका गरे पनि स्ट्रिटिङले स्टारमरविरुद्ध औपचारिक नेतृत्वको चुनौती भने दिएका छैनन् । स्ट्रिटिङले विद्यमान नेतृत्वलाई चुनौती दिएर चुनावी प्रतिस्पर्धा सुरु गर्न आवश्यक ८१ सांसदको समर्थन प्राप्त गरे–नगरेको खुलाएका छैनन् । तथापि, उनले भित्री रूपमा नेतृत्व चुनौती दिन तयारी गरेको ब्रिटिस मिडियाले लेखेका छन् ।
अहिलेसम्म सुरक्षामन्त्री जेस फिलिप्ससहित चार कनिष्ठ मन्त्रीले राजीनामा दिइसकेका छन् भने ८० भन्दा लेबर सांसदले स्टारमरलाई राजीनामा दिन वा नयाँ नेतृत्वको प्रतिस्पर्धाको समयतालिका सार्वजनिक गर्न आग्रह गरेका छन् । तथापि, हालसम्म कसैले पनि प्रधानमन्त्रीलाई औपचारिक रूपमा चुनौती दिएका छैनन् ।
स्ट्रिटिङ लेबर पार्टीभित्रको दक्षिणपन्थी गुटमाझ लोकप्रिय भए पनि उनलाई वामपन्थी समूहले रुचाएको देखिँदैन । वामपन्थी गुटबाट एन्जेला रेनर वा हाल ग्रेटर म्यानचेस्टर नगरका मेयर एन्डी बर्नहमलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । तीमध्ये बर्नहम हाल सांसद नभएकाले नेतृत्व चुनौतीमा भाग लिनुअघि उनले कुनै सांसदलाई राजीनामा गर्न लगाएर सांसद बन्नुपर्ने हुन्छ ।