सिन्धुलीको इलाका प्रहरी कार्यालय, खुर्काेटस्थित हिरासतमा श्रीकृष्ण विकको आत्महत्या नै भएको निष्कर्ष प्रहरीले निकालेको छ । डिआइजी दिनेश आचार्य नेतृत्वको छानबिन समितिले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाउँदै घटनामा प्रहरीको पनि व्यवस्थापकीय लापरबाही भएको उल्लेख गरेको छ।
समितिले मंगलबार प्रतिवेदन बुझाउँदै कार्यालय प्रमुख रहेका इन्स्पेक्टर वसन्त भुजेलसहितका केही प्रहरीलाई कारबाही सिफारिस गरेको हो । हिरासत कक्षको सुरक्षा र व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको भन्दै उनीहरूमाथि कारबाही सिफारिस भएको एक प्रहरी अधिकारीले बताए।
गत ७ वैशाखमा विक आफ्नै सर्टको पासो लगाएर झुन्डिएपछि प्रहरीले उनलाई उद्धार गरी अस्पताल लगेकोमा उनको मृत्यु भएको थियो। विकको प्रहरी यातनाबाट मृत्यु भएको हुन सक्ने भन्दै उनका आफन्त तथा दलित अगुवाले यसमा विस्तृत छानबिनको माग गरेका थिए।
पोस्टमार्टमलगायत वैज्ञानिक परीक्षणमा उनीमाथि बल प्रयोग नदेखिएको छानबिनमा संलग्न एक अधिकारीले बताए। ‘उनलाई हिरासतबाट सुरुमा सुनकोशी सामुदायिक अस्पतालमा लगिएको देखिन्छ, त्यहाँका चिकित्सकले पनि घाँटीमा बाहेक अन्यत्र चोट नभएको भनेर लेखेका छन्,’ छानबिन समितिका एक अधिकारीले भने,‘अटोप्सी रिपोर्टमा पनि आत्महत्या नै भएको निष्कर्ष आएको छ, सिसिक्यामेरालगायत अन्य छानबिनबाट उनीमाथि प्रहरीबाट कुटपिट भएको कुनै आधार देखिन्न ।’
तर, हिरासतकक्षमा सावधानी नअपनाउँदा विक झुन्डिएको छानबिन समितिको निष्कर्ष छ । हिरासत कक्षमा रहेको झ्यालको डन्डीमा सटको पासो लगाएर उनी झुन्डिएका थिए। झ्यालको भित्री भागमा रहेको जाली बलियोसँग नराख्दा त्यो सजिलै निकालेर उनी डन्डीमा झुन्डिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही लापरबाहीका आधारमा कार्यालय प्रमुख र हिरासत कक्षको सुरक्षामा खटिएका प्रहरीमाथि कारबाही सिफारिस भएको हो।
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्ले छानबिन समितिले प्रतिवेदन बुझाएको र प्रतिवेदन कार्यान्वायन हुने बताउँछन्।