मनाङमा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयको समुद्घाटन

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

मनाङमा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयको समुद्घाटन गरिएको छ । गृह सचिव राजकुमार श्रेष्ठले मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डे स्थित ३४२० मिटर उचाइमा अवस्थित शिक्षालयको समुद्घाटन तथा शिक्षालयमा संचालन भएको सि.स. २ उच्च भु–भाग खोज तथा उद्धार तालिमको बिहीबार समापन गरेका छन्। 

    कार्यक्रममा गृह सचिव श्रेष्ठले अकस्मात आउन सक्ने विपद् कार्यहरुमा सीमित श्रोतसाधनको बाबजुत पनि सशस्त्र प्रहरी बल, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको र सशस्त्र प्रहरी बल, नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र श्रोत साधन सम्पन्न बनाउन मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताए। 

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आईरहेको उल्लेख गर्नुहुँदै उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरुलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको जानकारी दिए।  पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई  उनले निर्देशन दिएका छन्।  

    महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बस्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्नको लागि जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताए।  

    २०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाख देखि ङिस्याङ गाउँपालिका ४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो ।         हालसम्म ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू–भाग खोज तथा उद्धार एडभान्स तालिम र १ सय २० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरिसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए। 
 

सुझावित समाचार