कोशी प्रदेश सभाको बजेट अधिवेशन ६ जेठदेखि

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सभाको बजेट अधिवेशन ६ जेठदेखि सुरु हुने भएको छ। कोशी प्रदेश सरकारको  बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालू वर्षको बजेट अधिवेशन आगामी ६ जेठदेिख सुरु गराउन प्रदेश प्रमुखसँग सिफारिस गरेको हो। 

आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेश सभाको नवौँ तथा  बजेट अधिवेशन ६ जेठ ३ बजेदेखि आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गर्न मन्त्रिपरिषदबाट निर्णय भएको सरकारका प्रवक्त्ता आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताए। जेन-जी आन्दोलनपछि २५ माघदेखि विराटनगरस्थित भाडाको भवनमा सुरु भएको कोशी प्रदेश सभाको आठौँ तथा हिउँदे अधिवेशन २३ चैत २०८२ देखि अन्त्य भएको थियो । 

२३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीले गर्दा विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेश सभाको बैठक र सचिवालय भवन ध्वस्त भएको थियो। यसैले कटहरी गाउँपालिका- १, जमटोकीमा रहेको कृषि थोक बजारमा २६ कात्तिकमा कोशी प्रदेश सभा सचिवालय स्थानान्तरण भएको थियो। तर, स्थानान्तरण भएको स्थानमा स्तरोन्नति ढिलाइ हुँदा कोशी प्रदेश सभाको हिउँदे अधिवेशन विराटनगर- ७ स्थित महानगरपालिकाको सभागृह भाडामा लिएर २५ माघदेखि सञ्चालन हुन थालेको थियो।

यसैगरी, कोशी प्रदेश सरकारले योजना आयोको सदस्यमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ।  
 

सुझावित समाचार