क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढाउन माग

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिक बढाउन माग गर्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र बुझाएको छ । संघका अध्यक्ष जगत टमाटाले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई समयअनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाएका हुन् । 

‘नेपाली क्रिकेटको विकासमा प्रशिक्षकले लामो समयदेखि निःस्वार्थ रूपमा योगदान गर्दै आएको छ, ठुलो योगदान हुँदा पनि प्रशिक्षकहरूले पाउने सुविधा, भत्ता र पारिश्रमिक न्यून रहेको छ,’ पत्रमा भनिएको छ, ‘नेपालका प्रशिक्षकहरूले सन् १९९६ अघिदेखि यू–१६, यू–१८, महिला तथा पुरुष सिनियर टोलीसम्म प्रशिक्षण दिँदै आएको छ ।’ प्रशिक्षकहरूको मिहिनेत र समर्पणका कारण धेरै प्रतिभावान् खेलाडी उत्पादन भएको र विभिन्न प्रतियोगितामा नेपालले सफलता हासिल गरेको संघका अध्यक्ष टमाटाले बताए । 

‘बढ्दो महँगीका बिच पनि पुरानै व्यवस्थाअनुसार काम गर्नुपर्दा प्रशिक्षकहरूको मनोबलमा असर परेको छ,’ उनले भने । संघले आफूहरू केवल सुविधा मात्र नभई आफ्नो योगदानको सम्मान र न्यायोचित मूल्यांकन चाहेको जनाएको छ । संघले प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा तत्काल सुधार गर्न क्यानसँग आग्रह  गरेको छ । ‘प्रशिक्षकलाई सम्मान नगर्ने प्रणालीले उत्कृष्ट खेलाडी उत्पादन गर्न नसक्ने भन्दै प्रशिक्षक बलियो भए मात्रै देशको क्रिकेट बलियो हुनेछ,’ पत्रमा उल्लेख छ । 

See More On

सुझावित समाचार