सेती लोकमार्गलाई राष्ट्रिय गौरवमा राख्न सिफारिस

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण
  • भारत र तिब्बतसँगको सीमासम्म जोड्ने ३५९ किमि सडक निर्माण भए त्रिदेशीय व्यापार सहज हुने र सुदूरपश्चिममा आर्थिक गतिविधि बढ्ने विश्वास

सुदूरपश्चिमका पाँच जिल्ला हुँदै दक्षिणमा भारत र उत्तरमा चीनको तिब्बत ताक्लाकोट सिमानासम्म जोड्ने निर्माणाधीन सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राख्ने प्रक्रिया अगाडि बढाइएको छ । सेती लोकमार्गको दक्षिण खण्डको कार्यालय अछामले यसलाई राष्ट्रिय गौरवको आयोजनामा राख्न सडक विभागलाई सिफारिस गरेर पठाएको छ । 

लोकमार्गको दक्षिण खण्डका प्रमुख रामकुमार देवले यो लोकमार्गलाई राष्ट्रिय गौरवमा राख्नुपर्ने कारण खुलाएर विभागलाई हालै सिफारिस पठाएको बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनामा राख्न सिफारिस पठाउनु भनेर विभागबाटै निर्देशन आएको थियो ।

कैलाली २ बाट निर्वाचित रास्वपा सांसद केपी खनालले सुदूरपश्चिमको मेरुदण्ड रहेको सेती लोकमार्गलाई राष्ट्रिय गौरवमा राख्नका लागि जिल्ला हुँदै आएको सिफारिस भौतिक पूर्वाधार मन्त्रालय पुगेको बताए । ‘०६६ बाट निर्माण थालिएको सडकको लागत ३३ अर्ब रहेछ, तर एक अर्ब ८३ करोड मात्र खर्च भएको छ । अर्बौँ बजेट चाहिनेमा करोडका हिसाबमा बजेट विनियोजन भइरहेको छ,’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवमा राखेर आयोजनालाई प्राथमिकता दिनुपर्छ । त्यहीअनुसार भौतिक पूर्वाधारमन्त्रीज्यू र योजना आयोगका उपाध्यक्षज्यूसँग छलफल भएको छ ।’ यो सडक बन्दा त्रिदेशीय व्यापार सहज हुने र पहाडलाई तराईसँगको दूरी छोट्याउने उनले बताए । 

सेती लोकमार्ग कैलालीबाट डोटी र अछाम जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग हो । ‘यो भारत र चीनको सिमाना जोड्ने छोटो दूरीको लोकमार्ग पनि हो । लोकमार्ग निर्माण भए पाँच जिल्लाका दर्जनौँ ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिनेछन् । यसले आर्थिक क्रियाकलाप बढ्नेछ,’ पूर्वी खण्ड प्रमुख देवले भने, ‘यिनै कारण खुलाएर राष्ट्रिय गौरवमा राख्न उचित भएको राय विभागमा पठाएका छौँ । राख्ने–नराख्ने निर्णय सरकारले गर्ला ।’ लोकमार्ग निर्माण भए त्रिदेशीय व्यापार सहज हुने यसले सुदूरपश्चिममा आर्थिक गतिविधि बढ्ने ठानिएको छ । यो लोकमार्ग निर्माणले सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य खप्तड, बडिमालिका, रामारोशनसम्म पुग्न सहज हुने भएकाले यी क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्नेछ । प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्द्धन हुनेलाई पनि राष्ट्रिय गौरवमा राख्नुपर्ने अर्को आधारका रूपमा प्रस्तुत गरिएको आयोजना प्रमुख देवले बताए । यो राजमार्ग अछाममा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भएर जान्छ । कैलालीमा भारतसँगको सीमानजिक दुर्गौलीदेखि बझाङको तलकोट गाउँपालिका हुँदै चीनको ताक्लाकोट जोड्ने यो लोकमार्ग तीन सय ५९ किलोमिटर लामो छ ।  

डेढ दशकमा पूरा गर्ने लक्ष्य, दशकसम्म ट्र्याक अधुरै
पञ्चायतकालदेखि नै सेती लोकमार्गका रूपमा चर्चामा रहेको यो योजनालाई सडक डिभिजनले ०७१ देखि निर्माण सुरु गरेको थियो । सरकारले लोकमार्गलाई उत्तर र दक्षिण गरी दुई खण्डमा छुट्याएर ०७३ मा उत्तरी खण्डको कार्यालय बझाङ र दक्षिण खण्डको कार्यालय अछाममा राख्यो । त्यसवेला १५ वर्षभित्र काम सक्ने लक्ष्य लिइएको थियो । तर, दशकसम्म ट्र्याक खोल्ने काम पनि पूरा भएको छैन । लोकमार्गको ३५९ किलोमिटरमध्ये करिब ९१ किलोमिटरको ट्र्याक खोल्न बाँकी रहेको तथ्यांक छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्नु, भौगोलिक कठिनाइजस्ता कारणले लोकमार्ग निर्माणको काम निकै सुस्त रहेको प्राविधिकहरू बताउँछन् । ‘बजेट कम विनियोजन हुनु नै निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण हो । भौगोलिक विकटता र कडा चट्टानले पनि समस्या भइरहेको छ,’ योजनाको उत्तरी खण्डका प्रमुख वीरेन्द्र यादवले भने, ‘पहाडका कतिपय ठाउँमा कडा चट्टान छन् । चट्टानले दिनमा पाँच–सात मिटरभन्दा बढी सडक खन्न नसकिने ठाउँ पनि छन् ।’ हिमाली जिल्ला बझाङको सन्दर्भमा हिउँदमा अत्यधिक चिसो हुने भएकाले वर्षभरि काम गर्ने समय पनि कम हुने गरेको उनले बताए । 

सुझावित समाचार