काठमाडौं महानगरका सामुदायिक विद्यालयको एसइई नतिजा ७६.७५ प्रतिशत

चार विद्यालयको नतिजा शतप्रतिशत

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयले ०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नतिजा सुधार गरेका छन् । ६० विद्यालयबाट चार हजार १६७ विद्यार्थी एसइईमा सहभागी भएकामा तीन हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका हुन् । तीमध्ये केन्द्रीय बहिरा मावि, श्रम राष्ट्रिय मावि, बाल व्यवसायी मावि र बाल सेवा माविले शतप्रतिशत नतिजा हासिल गरेको महानगरले जनाएको छ ।

३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या एक हजार चार, २.८ देखि ३.२ जिपिए ल्याउने एक हजार १५३, २.४ देखि २.८ जिपिए ल्याउने ४६९, २.० देखि २.४ जिपिए ल्याउने १४ जना छन् । गत वर्ष चार हजार ८५ जना परीक्षार्थीमध्ये तीन हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड भएका थिए ।

परीक्षामा देखिएको नतिजालाई विश्लेषण गरेर सुधारलाई प्रोत्साहन गरिने शिक्षा विभागका शिक्षा अधिकारी नमराज ढकालले बताए । उनका अनुसार विद्यालयको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास, शिक्षकहरूको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरले बिदाका समयमा सञ्चालन गरेका क्याम्प तथा विशेष निगरानी कक्षाबाट यो परिवर्तन आएको हो ।

शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार सिकाइप्रति विद्यार्थीको रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमले योगदान गरेको छ । यस कार्यक्रममा विद्यार्थीले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।

२८ विद्यार्थीले ल्याए ४ जिएपी 
काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालयका २८ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । महानगरबाट प्राप्त तथ्यांकअनुसार ज्ञानोदय माविका २१, विश्व निकेतनका तीन, रत्नराज्यका दुई तथा तरुण र शिवपुरी माविका एक–एक विद्यार्थीले ४ जिपिए प्राप्त गरेका हुन् । गत वर्ष १७ जनाले ४ जिपिए ल्याएका थिए । 

See More On

सुझावित समाचार