माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८२ मा कञ्चनपुरका आधाभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमिततर्फ ५१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकअनुसार आठ हजार २४५ नियमित विद्यार्थीतर्फ चार हजार २३२ विद्यार्थी उत्तीर्ण भएका छन भने चार हजार १३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
११३ सामुदायिक र ११० निजी विद्यालय गरेर २२३ विद्यालयमध्ये पाँच निजी विद्यालयका ६ विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन् । भीमदत्त नगरपालिकाका चार र कृष्णपुर नगरपालिकाकाे एक निजी विद्यालयका ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।
भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका छात्रद्वय संगम जोशी, अनमोल चन्द, भीमदत्त नगरकै आदर्श विद्या निकेतनका नितेश जोशी, डाइमन्ड एकेडेमी गड्डाचौकीकी छात्रा अस्था श्रेष्ठ, युनाइटेड पब्लिक स्कुल महेन्द्रनगरका समृद्धि ऐर र कृष्णपुर नगरको नवयुग बाल विद्याका एलिसा साउद रहेका छन् । कञ्चनपुरमा ०८० मा २, ०८१ मा शून्य र ०८२ मा दुई छात्रा, चार छात्र गरेर ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।
०८२ मा नियमित आठ हजार २४५, एक्ज्यामटेड दुई हजार ४२९ र पार्सियल ६८ विद्यार्थी एसइईमा सहभागी भएका थिए । छात्रा चार हजार १४२ र छात्र चार हजार ८३ नियमित विद्यार्थीले परीक्षा दिएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले विगतका वर्षहरुको तुलनामा नतिजा सुधारोन्मुख भएको बताए ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष ४ प्रतिशतले नतिजा सुधार भएको छ । ‘गत विगतका वर्षहरूभन्दा ०८२ मा नतिजामा सुधार आएको छ,’ उनले भने, ‘यसमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालयदेखिका सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण छ, अझै नतिजा सुधारका लागि अझै मिहिनेत गर्नुपर्ने देखियो ।’