मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

सोमबार संखुवासभाको मकालु गाउँपालिका–२ मा पर्ने हिमाल आरोहण गर्ने क्रममा ५३ वर्षीया सेली जोहानेसनको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।

मैनालीका अनुसार मकालु हिमाल आरोहण गरी फर्किने क्रममा क्याम्प–३ र क्याम–२ को आसपासमा ७ हजार २ सय मिटरको उचाइमा हिमपहिरोमा परी घाइते भएकी थिइन्। उनको सोमबार बिहान ८ बजे मृत्यु भएको सेभेन समिट टेक्स प्रालि काठमाडाैंका कर्मचारी रोशन सिलवालले जिल्ला प्रहरी कार्यालय संखुवासभालाई जानकारी दिएको डिएसपी मैनालीले बताए।

जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि घटनाको बारेमा थप बुझ्ने कार्य भइरहेको, तर घटनास्थलमा तत्काल पुग्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। उक्त स्थान प्रहरी चौकी मकालुबाट पैदल १५ दिन समय लाग्ने भएकाले प्रहरी त्यहाँ पुग्न कठिन रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार