सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका- १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका लागि भारत सरकारको सहयोगमा भवन निर्माण हुन लागेको छ ।
आज भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंहले सोमबार भवन शिलान्यास गरेका छन् ।
भारत सरकारको आर्थिक सहयोग करिब नेपाली रुपाैयाँ तीन करोड ६० लाख लागतमा विद्यालय भवनको निर्माण हुँदै छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिका, कैलालीमार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले अब बन्ने नयाँ संरचनाले धनगढी उपमहानगरपालिका, कैलालीका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।