सिरियामा नोभेम्बरदेखि हालसम्म सात लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघको मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयले मानवीय संकट गहिरिइरहेका वेला विस्थापितको संख्या बढेको जानकारी दिएको हो । त्यस्तै, हालसम्म १० लाखभन्दा बढी नागरिक आफ्ना घरमा पुनः फर्किएका सो निकायले जनाएको छ ।
संयुक्त राष्ट्र संघको मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थ तथा अन्य खतरनाक उपकरणको जोखिमबिच मानिसहरू देशभरि आवतजावत गरिरहेका छन्, जसका कारण हालसम्म पनि सिरियामा नागरिक गम्भीर रूपले घाइते र मृत भइरहेका छन् । सन् २०२५ को डिसेम्बर १२ देखि अहिलेसम्म दर्जनौँको ज्यान गएको छ र सयौँ घाइते भएका छन् । तीमध्ये एकतिहाइ बालबालिका छन् ।
राष्ट्रसंघले आफ्नो साझेदार संस्थाहरूको सहयोगमा विस्थापितका लागि अस्थायी आवास, जीविकोपार्जनका अवसर सिर्जना, खानेपानी आपूर्ति सुधार, खाद्यान्न तथा पोषण सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यद्यपि, आर्थिक अभावका कारण यी कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ । हाल सिरियामा मानवीय संकटबाट प्रभावित करिब ८१ लाख मानिसलाई सहायता पुर्याउने लक्ष्यसहित राष्ट्र संघले दुई अर्ब डलरबराबरको सहयोगको अपिल गरेको छ, तर हालसम्म मुस्किलले १० प्रतिशत जुट्न सकेको छ ।