संघीय सरकारको निर्देशनपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने अभियान सुरु भएसँगै यसको प्रभाव मकवानपुरमा पनि देखिन थालेको छ । सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै प्रशासनले अतिक्रमण हटाउने चेतावनी दिएपछि जिल्लाका विभिन्न स्थानमा बसोवास गर्दै आएका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी समुदायमा त्रास फैलिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सूचना जारी गर्दै अतिक्रमण गरेर बसेका व्यक्ति तथा समूहलाई तत्काल जग्गा खाली गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्दै अटेर गरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
प्रशासनको यो सक्रियतासँगै जिल्लामा भूमिसम्बन्धी समस्या सतहमा आएको हो । मकवानपुरमा हालसम्म २८ हजार ८०१ जनाले भूमिहीन दलित सुकुमवासी समस्या समाधान आयोगसमक्ष निवेदन दर्ता गराएका छन् । आयोगसमक्ष परेको निवेदन र प्रशासनले थालेको सरकारी जग्गा संरक्षण अभियानले जिल्लामा भूमिसम्बन्धी समस्या जटिल बन्दै गएको देखाएको हो । नापी कार्यालय मकवानपुरका प्रमुख तथा तत्कालीन भूमिहीन दलित सुकुमवासी समस्या समाधान आयोग मकवानपुरका सदस्यसचिव महेश्वर कार्कीका अनुसार निवेदन दिनेहरूमध्ये ४७१ जना भूमिहीन दलित, तीन हजार ५८९ जना भूमिहीन सुकुमवासी तथा सबैभन्दा बढी २४ हजार ७३७ जना अव्यवस्थित बसोबासी छन् ।
बकैया र मनहरीमा बढी समस्या
तथ्यांकअनुसार मकवानपुरमा सबैभन्दा बढी समस्या बकैया गाउँपालिकामा देखिएको छ । बकैयामा मात्रै ८ हजार ८१३ जनाले निवेदन दिएका छन् । तीमध्ये ४४ जना भूमिहीन दलित, ३२८ जना भूमिहीन सुकुमवासी र ८ हजार ४४१ जना अव्यवस्थित बसोबासी छन् । त्यसपछि मनहरी गाउँपालिकामा– ८ हजार ३३५ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको छ । मनहरीमा १०१ जना भूमिहीन दलित, ६१५ जना सुकुमवासी र ७ हजार ६१९ जना अव्यवस्थित बसोबासी छन् ।
हेटौँडा उपमहानगरपालिकामा ६ हजार १२४ जनाले निवेदन दिएका छन् । त्यसमध्ये २३६ जना भूमिहीन दलित, १ हजार ८५१ जना भूमिहीन सुकुमवासी तथा ४ हजार ३७ जना अव्यवस्थित बसोबासी छन् ।
बागमती गाउँपालिकामा २ हजार २०८, थाहा नगरपालिकामा १ हजार २९४, भीमफेदी गाउँपालिकामा ७७२, कैलाश गाउँपालिकामा ५४२, राक्सिराङ गाउँपालिकामा ३३१, मकवानपुरगढी गाउँपालिकामा २४३ तथा इन्द्रसरोवर गाउँपालिकामा १३५ जनाको विवरण संकलन गरिएको छ ।
हालसम्म ९६० जनाले पाए जग्गाधनी प्रमाणपुर्जा
मकवानपुरमा हालसम्म ९६० जना भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधान आयोगको जिल्ला समिति मकवानपुरले विभिन्न निर्णयअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा पुर्जा वितरण गरिरहेको हो ।प्राप्त विवरणअनुसार १६ जना भूमिहीन दलित र १४४ जना भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । थप ७५ वटा फाइल अन्तिम प्रक्रियामा पुगेका छन् । बागमती गाउँपालिकामा सबैभन्दा बढी पुर्जा वितरण भएको छ । वडा नम्बर १ मा ४ जना दलित र ३८ जना सुकुमवासी, वडा नम्बर २ मा ३० जना सुकुमवासी, वडा नम्बर ३ मा एकजना दलित र पाँचजना सुकुमवासी तथा वडा नम्बर ६ मा आठजना दलित र २१ जना सुकुमवासीले पुर्जा पाएका छन् । बकैया गाउँपालिका– ७ मा ४० जनाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् भने हेटौँडा उपमहानगरपालिका– १३ मा ६९ वटा पुर्जा वितरणको प्रक्रिया सम्पन्न भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन प्रशासन सक्रिय भएको बताएका छन् । उनका अनुसार संघीय सरकार तथा गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको समन्वयमा सरकारी जग्गा संरक्षण अभियान अगाडि बढाएको हो ।