भारतको पश्चिम बंगालमा विधान सभा चुनावपछि रोहिंग्या र बंगलादेशी घुसपैठियालाई राज्यबाट निकालिने भन्दै चर्चा हुन थालेपछि नेपाल–भारत विराटनगर जोगबनी नाकामा आवतजावतमा कडाइ थालिएको छ । पश्चिम बंगालमा भाजपाको दुईतिहाइको जितपछि बंगलादेशी शरणार्थी नेपालतर्फ पनि भाग्न थालेको आशंकामा नेपाली प्रशासनले जोगबनी नाकामा शनिबारदेखि चेकजाँचमा कडाइ थालेको हो ।
जोगबनी नाकाबाट नेपालतर्फ आउने सबै यात्रुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले परिचय खुल्ने प्रमाण देखाएर मात्र आवतजावत गर्न दिन थालेका छन् । खासगरी पश्चिम बंगालको राजधानी कोलकाताबाट जोगबनी रेल आउने दिन शनिबार, मंगलबार र बिहीबार चेकजाँचलाई अझ कडाइ गर्ने नीति मोरङ प्रशासनको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल–भारत आवतजावतलाई सधैँका लागि सुरक्षित बनाउन शनिबारदेखि नाकाको चेकजाँचमा कडाइ थालिएको बताए । ‘कोलकाताबाट जोगबनी रेल आउने दिन सशस्त्र र नेपाल प्रहरीको थप जनशक्तिसहित आउने–जानेको जाँच गरिनेछ । अरू दिन सशस्त्र प्रहरीले परिचयपत्र जाँच गरेर मात्र आवतजावत गर्न दिनेछ,’ उनले भने ।
बंगलादेशी शरणार्थीको घुसपैठ रोक्न भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा पानीट्यांकी नाकामा पहिलेदेखि नै आवतजावत गर्नेलाई नागरिकता वा ड्राइभिङ लाइसेन्स अनिवार्य गर्दै आएको छ । तर, भारतको बिहार राज्यसँग सिमाना जोडिएको विराटनगर जोगवनी नाकामा सहज रूपमा आवतजावत भइरहेको थियो । वेला–वेला दुवै देशको निर्वाचन र आपत्काल मात्र यो नाकामा परिचय खुल्ने कागजात माग गर्ने गरिएको थियो ।
सुरक्षा निकायका अनुसार झापा–मोरङलगायत जिल्लाको सीमाक्षेत्रमा रोहिंग्या र बंगालादेशीलगायत अवैध आप्रवासी आवागमनको प्रभाव छैन । हालसम्म यो नाकाबाट पश्चिम बंगालीबाहेक आप्रवासनका लागि रोहिंग्या नेपाल प्रवेश गरेको खुलेको छैन ।
पश्चिम बंगालको मुस्लिम बहुल क्षेत्र माल्दाबाट १९९ किमिको दूरीमा पर्ने विराटनगरको जोगबनी नाकासम्म कोलकाता एक्सप्रेसको रेल रुट छ । जोगबनी नाकाबाट आँखा उपचारका लागि पश्चिम बंगालका भारतीय नागरिक आउने गरेका छन । नेपालले ०७८ पछि तेस्रो देशमा पुनर्स्थापना गर्ने नीति लिन छाडिसकेको छ ।