निभ कर्पोरेसन लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।
निभ र ग्लोबलबिच यससम्बन्धी सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा निभका तर्फबाट सञ्चालक अध्यक्ष यज्ञमूर्ति न्यौपाने र क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । निभले सर्वसाधारणमा प्रतिशेयर अंकित मूल्य १०० दरका २५ करोड रुपैयाँबराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।
कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित ०७६ मा स्थापना भएको कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा छ । कम्पनीले हाल दाङ, नेपालगन्ज तथा सुर्खेत आदि क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, वेशभूषा तथा परिवेशलाई समेटेर होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।