राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १ जेठमा पुरुष १० किमि एनवाइएफएन रन हुने भएको छ। बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै संघको ३७औँ स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्ने जानकारी गरायो।
दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु हुने प्रतियोगिता तीनकुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुंगिनेछ। आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले प्रतियोगितामा पाँच सयदेखि हजारजनाको सहभागिता रहने बताए।
खुला प्रतियोगिता भएकाले राष्ट्रियस्तरका खेलाडीदेखि राष्ट्रिय युवा संघका सदस्यहरू सहभागी हुनेछन्। प्रतियोगिता नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुनेछ।
प्रतियोगितामा शीर्ष ५ स्थान रहने खेलाडीका लागि पुरस्कारको व्यवस्था गरिएको छ। जसमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौँ स्थान हात पार्नेले १० हजार प्राप्त गर्नेछन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गुरुङले अर्को वर्षदेखि महिला खेलाडीको इभेन्ट्स पनि समावेश गरिने बताए।