उदयपुरको चौदण्डीगढी नगरपालिका– १० अन्तर्गत पर्ने शिवनगर र इक्राहा क्षेत्रलाई जोड्ने त्रियुगा नदीमाथिको ५५७ मिटर लामो झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीयवासीमा राहत मिलेको छ। वर्षौँदेखि नदी तर्नुपर्ने बाध्यता, वर्षायाममा हुने जोखिम र आवागमनको सास्ती धेरै हदसम्म अन्त्य भएको भन्दै स्थानीयले पुललाई ‘जीवन बदल्ने पूर्वाधार’का रूपमा लिएका हुन्।
त्रियुगा नदीमाथि निर्माण गरिएको यो पुल सञ्चालनमा आएसँगै शिवनगर, इक्राहा, खैरहा, हडिया, अँधेरीलगायत आसपासका बस्तीका नागरिकलाई दैनिक आवतजावतमा सहजता मिलेको छ। विशेषगरी वर्षायाममा नदीमा आउने बाढीका कारण अलग्गै टापुजस्तै बन्ने शिवनगर क्षेत्र अब मुख्य सडक सञ्जालसँग सुरक्षित रूपमा जोडिएको हो ।
स्थानीयका अनुसार यसअघि सामान्य कामका लागि पनि नदी पार गर्न निकै जोखिम मोलेर हिँड्नुपर्थ्यो । नत्र वैकल्पिक बाटो अपनाउँदा दुई घण्टाको दूरीमा अर्को पुल पुग्न पर्दथ्यो। चौदण्डी नगरपालिकाका स्थानीय अगुवा अन्जनीकुमार अधिकारीले भने, ‘बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय पुग्न, किसानलाई बजार जान र सर्वसाधारणलाई प्रशासनिक कामका लागि आवतजावत असहज थियो । अत्र सहज हुने भएको छ ।’
मदन भण्डारी राजमार्गबाट करिब एक किलोमिटरको दूरीमै भए पनि त्रियुगा नदी पार गर्ने सुरक्षित संरचना नहुँदा स्थानीयले वर्षौँदेखि समस्या थियो । स्थानीयवासी टीका निरौलाले पुल निर्माणले गाउँको जीवनशैली नै परिवर्तन हुने बताइन् । उनका अनुसार पुलबाट करिब झन्डै एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
उनका अनुसार पुल सञ्चालनमा आएपछि सदरमुकाम गाईघाट, चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार तथा वडा कार्यालयसम्म पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ। संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको नाै करोड ६९ लाख ४९ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त पुल थानी निर्माण सेवा, काठमाडौं बनाएको हो ।
गत वर्ष ०८२ असार ३० गते शिलान्यास गरिएको पुल दुईवर्षे लक्ष्य राखेर निर्माण सुरु गरिएको भए पनि निर्माणकार्य तीव्र रूपमा अघि बढाइएकाले समयमै सम्पन्न गर्न सफल भएको जनाएको छ ।