‘फेक रेस्क्यु’ प्रकरण : थप उजुरीपछि दोस्रो चरणमा अनुसन्धान हुँदै

३३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

पर्यटकको उद्धारमा नाममा भएको संगठित ठगीमा संलग्नहरूविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणको अनुसन्धान थालेको छ । पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दायर गरिएका प्रतिवादीको सम्पत्ति शुद्धीकरण कसुरमा मंगलबारदेखि अनुसन्धान सुरु भएको हो ।

सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याएर ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । ब्युरोका एआइजी डा. मनोज केसीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने निर्णय गरेर अनुसन्धान अधिकृतलाई जिम्मेवारी दिएका छन् । यससँगै उनीहरूको सम्पत्ति रोक्काको प्रक्रिया अघि बढेको छ । फेक रेस्क्युबाटै करोडौँको सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा यसरी छानबिन थालिएको सिआइबीका एक अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा भएको अनुसन्धानमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो कायम गरिएको थियो । ११ जनालाई पक्राउ गरेर मुद्दा दायर गरिएकोमा उनीहरू धरौटीमा छुटिसकेका छन् । माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसी पक्राउ परेका थिए । त्यसैगरी, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी र नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी पनि पक्राउ परेकामा उनीहरू धरौटीमा छुटिसकेका छन् ।

सुरुमा सरकारी वकिल कार्यालयले हवाई सुरक्षा विज्ञ बताउने राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । पछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको निर्णयका आधारमा सिंहविरुद्ध पनि मुद्दा दायर भसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । फरार बनाएर मुद्दा दायर भएका कतिपय अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन् । फरार बनाएर मुद्दा दायर गरिएकाहरूमा विवेकराज थपलिया, डा. मिनल्मा पाण्डे, श्यामसुन्दर कँडेल, सन्दीप ढुंगाना, शान्तकुमार बानियाँ, विनोद सापकोटा, जीवन पाण्डे, भानु ढकाल, फुर्वाछिरिङ शेर्पा, ममिता भट्ट, चुङला शेर्पा, तेन्जिङ शेर्पा, पासाङ दावा शेर्पा, बद्री लम्साल, कवीन्द्र लम्साल, सन्दीप भण्डारी, प्रकाशबाबु दाहाल, चन्द्र प्याकुरेल, कुमार भण्डारी, गणेश सिलवाल, श्रीराम केसी र रामकुमार फुयाँल छन् । उनीहरूको सम्पत्तिउपर दोस्रो चरणमा अनुसन्धान थालिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

ट्रेकिङ गाइडदेखि अस्पतालसम्मको मिलेमतोमा पर्यटकलाई सामान्य अवस्थामा जबर्जस्ती उद्धार गर्ने अस्पतालमा राखेर लाखौँको बिल उठाई बिमामार्फत सो रकम ठगी हुने गरेको थियो । जुन घटनाले नेपालको पर्यटन क्षेत्र नै विश्वमा बदनाम भएपछि सिआइबीले छानबिन थालेको हो । 

सुझावित समाचार