आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण
  • सन् २००६ पछि इंग्लिस क्लब आर्सनल युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिनजिक 

आर्सनलले युरोपकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल स्थान सुरक्षित गरेको छ । इंग्लिस प्रिमियरसिप क्लब आर्सनलले च्याम्पियन्स लिगको फाइनल स्थान सुरक्षित गर्न २० वर्षको प्रतीक्षा गर्यो । आर्सनलले अन्तिमपटक सन् २००६ को च्याम्पियन्स लिग फाइनल खेलेको थियो । जहाँ आर्सनल स्पेनिस क्लब बार्सिलोनासँग २–१ ले पराजित भएको थियो । त्यसयता आर्सनल च्याम्पियन्स लिगको उपाधिनजिक कहिल्यै पुग्न सकेन ।

आर्सनलले अब फाइनलमा जर्मन क्लब वायर्न म्युनिख वा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)बिचमध्ये एक विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । हंगेरीमा ३० मेमा हुने फाइनलमा यसपटक इंग्लिस क्लबले फ्रान्स वा जर्मनी क्लबलाई प्रतिद्वन्द्वी पाउनेछ । चालू च्याम्पियन्स लिगको दोस्रो लेगमा आर्सनलले स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । समग्रमा आर्सनल २–१ ले विजयी भएको हो ।

च्याम्पियन्स लिगको इतिहासमा आर्सनलले दोस्रोपटक सेमिफाइनलमा एटलेटिको म्याड्रिडलाई हराएको थियो । १४० वर्षको इतिहास बोकेको आर्सनलले म्याड्रिडलाई निराश बनाउन पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो लेगमा आर्सनललाई महत्वपूर्ण जित दिलाउन बुकायो साकाले एक मात्र विजयी गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा उनले गरेको गोलको सहयोगमै आर्सनल दुई दशकपछि फाइनलमा पुगेको हो ।

साकाले गोलरक्षक जान ओब्लाकबाट रिवाउन्ड भएको बलमा गोल गरेका थिए । उनको गोलसँगै आर्सनलको घरेलु मैदानमा उपस्थिति भएका समर्थकले खुसी मनाए । आर्सनलले एक गोलको अग्रता लिएपछि डिफेन्स निकै बलियो बनाएको थियो । एटलेटिको म्याड्रिडले कुनै पनि समयमा आर्सनलको डिफेन्स तोड्न सकेन । एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीका लागि आर्सनलसँगको हार दुःखद रह्यो । सिमोनीका छोरा जुलियानोले आर्सनलविरुद्ध गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।

सिमोनीले अहिलेसम्म टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सकेका छैनन् । योबाहेक उनले दुई दशकको प्रशिक्षण करिअरमा भने एटलेटिको म्याड्रिडलाई अन्य उपाधि दिलाएका छन् । ‘हामीले गोलका लागि धेरै प्रयास गरेका थियौँ, तर खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन,’ निराश हुँदै सिमोनीले भने, ‘दोस्रो हाफमा खेल हामीले नियन्त्रणमा राखेका थियौँ । आर्सनलले हामीविरुद्ध बलियो डिफेन्स रणनीति बनाएको थियो ।’

प्रिमियर लिगमा पनि उपाधितर्फ
चालू सिजनमा आर्सनलले च्याम्पियन्स लिगमा मात्र नभएर इंग्लिस प्रिमियर लिगमा समेत सानदार प्रदर्शन गरिरहेको छ । योपटक पनि आर्सनल प्रिमियर लिग उपाधिनजिक छ । आर्सनलले ३५ खेलबाट ७६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ७१ अंक बटुलेको छ । सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको छ । यसैगरी, तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ६४ अंक बटुलेको छ । युनाइटेडले पनि योपटक च्याम्पियन्स लिगको स्थान सुरक्षित गरेको छ । इंग्लिस प्रिमियर लिगमा उल्भ्स र बर्नली रेलिगेसन जोनमा छन् । वेस्ट ह्याम र टोटनह्याम रेलिगेसनबाट उम्कन संघर्षरत छन् । 

उपाधि जित्ने योजनामा आर्सनल
च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीले उपाधि हात पारेका छन् । आर्सनल पनि अब त्यही इंग्लिस क्लबले यसअघि रचेको इतिहास दोहोर्याउन चाहन्छ । युनाइटेडबाट च्याम्पियन्स लिग उपाधि जितेका वाइन रुनीले आर्सनल यसपटक उत्कृष्ट फर्ममा रहेको बताए । ‘मेरो नजरमा आर्सनल योपटक च्याम्पियन हुनलायक टोली हो । उनीहरूले यसका लागि धेरै मिहिनेत गरेका छन्,’ रुनीले भने ।

See More On

सुझावित समाचार