हालै जारी अध्यादेशपछि अर्थ मन्त्रालयमातहतका विभिन्न निकायहरूमा रहेका अध्यक्ष, सदस्य र कार्यकारी प्रमुखहरू पदमुक्त भएका छन् । अध्यादेश लागू भएपछि कर्मचारी सञ्चय कोषका अध्यक्षदेखि सदस्य तथा प्रशासकसम्म पदमुक्त भएका छन् । पदमुक्त हुनेमा अध्यक्ष भूपाल बराल तथा सदस्यहरू डा. धनीराम शर्मा, ईश्वर कार्की, विनोद थापा, प्राडा ताराप्रसाद भुसाल, देवेन्द्ररमण खनाल तथा प्रशासक जितेन्द्र धिताल पदबाट मुक्त भएका छन् ।
त्यस्तै, नागरिक लगानी कोषका प्रमुख पदाधिकारीसमेत अध्यादेशको दायरामा परेका छन् । अध्यादेश जारी भएसँगै लगानीकोषमा अध्यक्ष तुलसीप्रसाद घिमिरेसहित विज्ञ सञ्चालक हेमन्तराज रमाली, कार्यकारी निर्देशक पर्वतकुमार कार्की जिम्मेजारीबाट मुक्त भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था परिषद् गठनबाट कुमार राई, थानप्रसाद पज्ञानी, श्यामप्रसाद भण्डारी पदमुक्त भएका हुन् । लेखामान बोर्डबाट पदमुक्त हुनेहरूमा अध्यक्ष सुनीलकुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्रकुमार मिश्र, दुर्गाप्रसाद ज्ञवाली, मनीषराज उप्रेती, विदुर लुइटेल, पोषराज नेपाल रहेका छन् ।
लेखा परीक्षणमान बोर्डबाट पदमुक्त हुनेमा अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रवीन्द्र राजभण्डारी, क्षेत्रगोपाल प्रधान, शेषमणि दाहाल, गणेशराज राई रहेका छन् । नेपाल धितोपत्र बोर्डका सदस्य पीताम्बर भण्डारी पनि जिम्मेवारीबाट मुक्त भएका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका सदस्य प्रकाशजंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि हटाइएको छ । नेपाल बिमा प्राधिकरणका जीवन बिमा सदस्य डा. गणेशप्रसाद पाण्डे पनि अध्यादेशमार्फत पदमुक्त भएका हुन् ।