चुनावपछि लगातार देखिएका राजनीतिक चुनौतीबिच अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सुधार नहुँदा एमालेको केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ । चैतमै समीक्षा गर्ने तयारी भए पनि पितृशोक, गिरफ्तारी र पित्तथैलीको शल्यक्रियापछि देखिएको संक्रमणका कारण उनी अझै एक महिना आराममै रहने चिकित्सकले बताएका छन् ।
सचिव पद्मा अर्यालका अनुसार प्रतिवेदनहरू आउँदै भए पनि अध्यक्षकै उपस्थितिमा समीक्षा गर्ने योजना तत्काल सम्भव छैन । अस्पतालमा उपचारका क्रममा हल्का निमोनियासमेत देखिएको र डिर्स्चाजपछि निवासमै आराम गरिरहेका बेला इन्फेक्सन थपिएकाले ओलीलाई भेटघाटमा समेत रोक लगाइएको छ, जसले पार्टीभित्रको निर्णय प्रक्रिया थप प्रभावित बनेको छ ।
ओलीको अप्रेसन गरिएकै स्थानमा इन्फेक्सनले घाउ पाकेको र सुन्निएकाले गुन्डुमै पुगेर चिकित्सकहरूले नियमित फलोअप गरिरहेका छन् । त्यसक्रममा घाउको ड्रेसिङसमेत हुने गरेको छ ।