सारथि नै ओली विस्थापनको गृहकार्यमा

भण्डारी–पोखरेल पक्षको रणनीति : ओलीलाई सम्मानजनक बहिर्गमनको दबाब, विकल्पमा विशेष महाधिवेशन

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण
  • निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसम्मै ओलीको ‘सम्मानजनक बहिर्गमन’को सन्देशसहित सक्रिय हुँदा आसन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव जान सक्ने सम्भावना

चुनावी पराजयको धक्का, नेतृत्वको धूमिल छवि र बदलिँदै गरेको आन्तरिक शक्ति सन्तुलनले एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन बहस निर्णायक मोडतिर पुग्न थालेको छ । अध्यक्ष केपी ओलीनिकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसम्मै ‘सम्मानजनक बहिर्गमन’को सन्देशसहित सक्रिय हुँदा आसन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव जान सक्ने सम्भावना बढेको छ । तर, ओलीको स्वास्थ्य समस्याका कारण एमालेको चुनावी समीक्षा बैठक बस्न सकेको छैन ।

२१ फागुनको निर्वाचनमा अकल्पनीय पराजयको जिम्मेवारी लिँदै पद छोडेर पार्टीको समग्र पुनर्गठनका लागि ढोका खोल्न अध्यक्ष ओलीमाथि इतर समूहको दबाब छ । यही वेला उनी पक्षधर नेता उपाध्यक्ष पौडेल र महासचिव शंकरसमेत हतारमा होइन, सहमति र सम्मानसहित ओलीको बहिर्गमनको बाटो खोज्ने प्रयासमा छन् । तल्ला कमिटीका कार्यकर्ताको बदलिँदै गएको मनस्थितिसँगै पार्टीभित्र इतर पक्षले पुनर्गठनका लागि चाल्ने सम्भावित कदमप्रति नजर लगाइरहेका पौडेल र पोखरेल नै ओलीलाई सम्मानजक बहिर्गमन गराएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । यसले एमालेको आन्तरिक समीकरणमा ठुलो अर्थ राख्छ ।

नेताहरूका अनुसार अबको केन्द्रीय कमिटी बैठकमा पौडेल र पोखरेल नेतृत्व परिवर्तनको औपचारिक प्रस्ताव लैजाने तयारीमा छन् । यी दुई नेताले ओलीलाई भेटेरै यस विषयमा आग्रहसमेत गरिसकेका छन् । त्यसबाहेक युवा–विद्यार्थी परिचालनसमेत गरेर यी दुई नेताले माहोल अनुकूल बनाउने प्रयास गरिरहेका छन् । यद्यपि, केन्द्रीय कमिटी बैठक डाकेर चुनावी समीक्षा गर्ने भनिए पनि अध्यक्ष ओलीको प्रतिकूल स्वास्थ्यका कारण तत्काल बैठक बस्ने अवस्था बनेको छैन । प्रदेश र जिल्लाले चैतभित्र नै चुनावी समीक्षा प्रतिवेदन पठाएका छन् । नेताहरूका अनुसार प्रदेश र जिल्लाका प्रतिवेदनमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन पुनर्गठन अपरिहार्य रहेको उल्लेख छ ।

ओलीकै ‘कोर टिम’का दुई नेताले नै पार्टी नेता–कार्यकर्तासँगको अनौपचारिक भेटघाट र कुराकानीमा पुनर्गठनको विकल्प नरहेको सन्देश दिन थालेपछि एमालेभित्र नयाँ शिराको ध्रुवीकरण प्रयास अगाडि बढेको मानिएको हो । यसै शिलशिलामा केही दिनअघि गुन्डुस्थित निवासमा संयुक्त रूपमा भेटेरै पौडेल र पोखरेलले पार्टी पुनर्गगठनको दिशामा लैजान बहिर्गमनको मानसिकता बनाउन ओलीसँग आग्रह गरिसकेका छन् । तर, ओलीले रुखो जवाफ फर्काएको ती नेताले जानकारी दिए ।

वार्ताबारे जानकार एक पदाधिकारीका अनुसार त्यस दिन पौडेल–पोखरेलको संयुक्त प्रस्ताव थियो, ‘पार्टीभित्र तलका धेरै साथीहरू पुनर्गठनको पक्षमा उभिँदै गइरहेका छन् । वर्तमान चुनौती सामना गर्न नेतृत्वबाट सम्मानजनक बहिर्गमन आवश्यक छ । पुनर्गठनको स्पष्ट सन्देश दिन अन्तरिम संगठन कमिटी गठन गरौँ र त्यसको नेतृत्वका लागि तपाईंले विश्वास गरेको व्यक्तिको नाम प्रस्ताव गर्नुस्, हामी स्विकार्न तयार छौँ । हालका लागि संगठन कमिटी बनाएर ६ महिनादेखि एक वर्षभित्र महाधिवेशन गर्ने गरी अघि बढ्न सकिन्छ । त्यस अवधिमा तलसम्मका सबै कमिटी पुनर्गठन गरी रूपान्तरित पार्टीका रूपमा नयाँ सन्देश दिन सकिन्छ ।’

पछिल्लो समय उपाध्यक्ष पौडेलले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत नेतृत्वको विकल्प खोज्नुपर्ने स्पष्ट सन्देश दिँदै आएका छन् । ‘२१ फागुनको निर्वाचनमा हामीले ठुलो धक्का व्यहोरेका छौँ । त्यस असफलतालाई चिर्दै हामी पुनः उठ्छौँ । पराजयको जिम्मेवारी नेतृत्व, कार्यशैली वा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमध्ये कसमा छ भन्नेबारे व्यापक समीक्षा गरौँला । हाम्रा कमजोरीप्रति देशवासीसँग क्षमायाचना गर्दै आन्दोलनलाई पुनर्गठित गर्छौँ,’ पछिल्लो उनले भनेका छन्, ‘बदलिँदो सन्दर्भअनुसार नीतिगत, व्यावहारिक र नेतृत्वगत सुधार अपरिहार्य छ । जहाँ–जहाँ त्रुटि छन्, ती सच्याएर नयाँ दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।’

ओलीमा सुधारको गुन्जायस नदेखिएपछि उनको बहिर्गमनको पक्षमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल देखिँदा नयाँ ध्रुवीकरणको सम्भावना बढेको छ । तर, त्यसपछि पार्टी कसले नेतृत्व गर्ने, तलसम्म पुनर्गठन प्रक्रिया बढाउने विधि, प्रक्रियासहितको रोडम्यापबारे दुवै नेता ‘रिजर्भ’ छन् ।

अर्कोतर्फ एघारौँ महाधिवेशनदेखि इतर समूहको नेतृत्व गर्दै आएको पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको समूह पौडेल र पोखरेलसँग मिलेर पहिले ओली हटाउने रणनीतिमा छ । पौडेल र पोखरेल खुल्दा १९ सदस्यीय पदाधिकारीभित्र ओलीलाई बहिर्गमन गराएर पुनर्गठन अभियान अगाडि बढाउने प्रस्तावमा बहुमत पुग्ने सम्भावना छ । अहिलेलाई भने उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र पदाधिकारीमा इतर पक्षबाट प्रतिनिधित्व गर्छन् । 
एकातिर प्रतिकूल स्वास्थ्य, अर्कोतिर आफ्नै राइट ह्यान्ड र लेफ्ट ह्यान्डका रूपमा चिनिएका पोडेल–पोखरेलको अप्रत्याशित ‘युर्टन’ दबाबमा आएका ओली यही मौकामा नयाँ रणनीति बुनेर ‘मुभ’ गर्ने योजनामा रहेको उनीनिकट नेताहरू बताउँछन् । तर, त्यो ‘मूभ’ कस्तो हुन्छ भन्ने स्पष्ट छैन । 

संस्थापन पक्षकी सचिव पद्मा अर्यालले अध्यक्षमाथि पदाधिकारी तहबाटै पुनर्गठनका लागि दबाब बढिरहेको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताइन् । ‘हामी एजेन्डामा केन्द्रित भएर औपचारिक छलफलमा बसेका छैनौँ । परिवर्तित परिस्थितिका चुनौतीबारे नेताहरूबिच अनौपचारिक तहमा हुने छलफल बेग्लै कुरा हो,’ उनले भनिन्, ‘नेतृत्व परिवर्तनबारे कुनै संस्थागत धारणा बनेको छैन । अध्यक्षकै उपस्थितिमा चुनावको व्यवस्थित समीक्षा गर्ने योजना भए पनि प्रतिकूल स्वास्थ्य अवस्थाका कारण कम्तीमा एक महिना केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना छैन ।’

समीक्षा र पुनर्गठनको हतारोमा केन्द्रीय नेता
शनिबार पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेलनिकट युवा–विद्यार्थी भेलामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षका केन्द्रीय सदस्यहरू सहभागी हुँदै पार्टी पुनर्गठनका लागि अध्यक्षको बहिर्गमन अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा आयोजित भेलामा करिब ५० युवा–विद्यार्थी पृष्ठभूमिका अगुवा सहभागी थिए । भेलामा झपट रावल, नविना लामा, रमेश पौडेल, गजेन्द्र थपलिया, समिक बडाल, नरेश रोकाय, उपेन्द्र शाही, डा. उज्वल कडरिया, रोशन बस्नेत, कमल जोशीलगायत सहभागी थिए । पार्टी केन्द्रीय सदस्यसमेत रहेका बडाल, रोकाय तथा अनेरास्ववियुका निवर्तमान अध्यक्ष कडरिया महासचिव पोखरेलका रूपमा चिनिँदै आएका थिए । 

भेलामा नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले ‘नेकपा एमाले पुनर्जागरण, रूपान्तरण र पुनर्संरचना मार्गचित्र, २०८३’ शीर्षकको अवधारणापत्र प्रस्तुत गर्दै पुनर्गठनलाई अनिवार्य बताए । राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतका अनुसार अध्यक्षको सम्मानजनक बहिर्गमनपछि मात्र संगठनात्मक पुनर्संरचनाको बाटो खुल्ने र अन्तरिम संगठन कमिटीमार्फत महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राखिएको थियो । ‘पार्टी अध्यक्षको सम्मानजक बहिर्गमनबाट मात्र पुनर्गठनको ढोका खुल्छ, उहाँ अब संरक्षक भएर जान पनि तयार हुनुपर्छ, तर पुनर्गठनको अर्थ मूल नेतृत्व मात्र होइन, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी सबै विघटन गरी अन्तरिम कालका लागि संगठन कमिटी बनाएर पुनर्गठन अभियान सम्पन्न गरी महाधिवेशनतिर जाने कुरा उपयुक्त हुन्छ भन्ने कुरा उठेको छ,’ बस्नेतले भने । आईतबार पनि एमाले पुनर्जागरणका लागि देशैभर अभियान चलाउने तयारीमा रहेको युवा समूहले नागरिक समाजका अगुवा बुद्धिजीवीहरूसँग अलग्गै अन्तरक्रिया गरेको अभियानमा सकृय अनेरास्ववियुका उपमहासचिव कमल जोशीले बताए । अन्तरक्रियामा एमाले पुनजार्गरणका सम्बन्धमा नागरिक अगुवाहरू कनकमणी दिक्षित, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, सुशील प्याकुरेल,  सुबोधराज प्याकुरेललगायतले अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै जारी राख्न सुझाव दिएका थिए । 

त्यसैबिच केन्द्रीय सदस्य ठाकुर गैरेले पुनर्गठन र नेतृत्व हस्तान्तरणका विषयमा छिटो निर्णय लिन केन्द्रीय कमिटी बैठक तत्काल बोलाउनुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टी पुनर्गठनका बारेमा के गर्ने, कुन विधिबाट कसरी गर्ने विषय छलफलबाट तय हुने कुरा हो । त्यसका लागि केन्द्रीय कमिटीको बैठक छिटो आह्वान हुनुपर्छ । बैठकको मिति तय भएपछि छलफलका लागि प्रस्ताव तय हुने हो,’ गैरेले भने । 

तर, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने नेतृत्वमाथि आक्रमण भइरहेका वेला पुनर्गठनको बहस चलाउनुको कुनै अर्थ नहुने बताए । ‘हामी चुनावको समीक्षा भएपछि त्यस आधारमा अगाडि बढौँ भन्ने पक्षमा छौँ,’ उनले भने, ‘पार्टीलाई कसरी एकताबद्ध बनाउनेतिर जानुपर्छ भनेर सुझाव दिएका छौँ । विरोधीहरूको तीव्र आक्रमण भइरहेका वेला नेतृत्वलाई कमजोर बनाउने वा घेराबन्दी गर्ने काम गर्नुहुन्न ।’

बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आफ्ना प्रदेशभित्र पार्टीलाई नयाँ अवधारणासहित अगाडि बढाउनुपर्ने सुझाव आएको बताए । तर, नेतृत्वलाई हठात ढंगले हटाउने पक्षमा आफू नभएको उनले प्रस्ट्याए । ‘विकसित घटनाक्रमअनुसार समग्रमा पार्टी नयाँ अवधारणासहित अगाडि बढ्नुपर्छ भन्ने नै सुझाव छ,’ उनले भने, ‘अध्यक्ष हटाउनेबित्तिकै पार्टी बलियो बन्छ भन्ने दृष्टिकोण कसैले पनि राख्नुहुँदैन । उहाँले अध्यक्ष छोड्ने हो भने स्वैच्छिक रूपमा बिदा लिएर उहाँकै प्रस्तावमा पार्टी कसरी अघि बढ्ने भन्ने नयाँ प्रस्ताव आउनुपर्छ ।’

ओलीको प्रतिकूल स्वास्थ्यले एमाले बैठक अनिश्चित, ओली अझै एक महिना बेडरेस्टमा
चुनावपछि लगातार देखिएका राजनीतिक चुनौतीबिच अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सुधार नहुँदा एमालेको केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ । चैतमै समीक्षा गर्ने तयारी भए पनि पितृशोक, गिरफ्तारी र पित्तथैलीको शल्यक्रियापछि देखिएको संक्रमणका कारण उनी अझै एक महिना आराममै रहने चिकित्सकले बताएका छन् । सचिव पद्मा अर्यालका अनुसार प्रतिवेदनहरू आउँदै भए पनि अध्यक्षकै उपस्थितिमा समीक्षा गर्ने योजना तत्काल सम्भव छैन । अस्पतालमा उपचारका क्रममा हल्का निमोनियासमेत देखिएको र डिर्स्चाजपछि निवासमै आराम गरिरहेका बेला इन्फेक्सन थपिएकाले ओलीलाई भेटघाटमा समेत रोक लगाइएको छ, जसले पार्टीभित्रको निर्णय प्रक्रिया थप प्रभावित बनेको छ । ओलीको अप्रेसन गरिएकै स्थानमा इन्फेक्सनले घाउ पाकेको र सुन्निएकाले गुन्डुमै पुगेर चिकित्सकहरूले नियमित फलोअप गरिरहेका छन् । त्यसक्रममा घाउको ड्रेसिङसमेत हुने गरेको छ । 

भण्डारी–पोखरेल पक्षको रणनीति : ओलीलाई सम्मानजनक बहिर्गमनको दबाब, विकल्पमा विशेष महाधिवेशन
पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेलनिकट समूहले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमनलाई प्रमुख सर्त बनाएको छ । ओली स्वयंले पद छोडेर पुनर्गठनको प्रस्ताव अघि नबढाए पदाधिकारी र केन्द्रीय कमिटीको बहुमतबाट उनलाई हटाउने पहिलो रणनीति तयार गरिएको स्रोतहरूको दाबी छ ।

तीन सय सदस्यीय केन्द्रीय कमिटीमा एक दर्जनभन्दा बढीको अनुपस्थिति रहेका कारण उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई साथ लिएर नयाँ ध्रुवीकरणमार्फत बहुमत जुटाउने प्रयास भइरहेको छ । त्यसमा सफलता नपाए विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने वैकल्पिक रणनीति पनि तयार गरिएको छ । तर, भण्डारी पक्ष हाल सार्वजनिक रूपमा आक्रामक देखिएको छैन । संस्थागत र विधिसम्मत प्रक्रियामार्फत अघि बढ्ने रणनीति अपनाउँदै विशेष महाधिवेशनको हस्ताक्षर अभियानलाई पनि तत्कालका लागि रोकेको बताइएको छ ।

यसैबिच भण्डारी–पोखरेल समूहले आगामी पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा राजनीतिक परिस्थिति र पुनर्गठनको आवश्यकता समेटिएको अलग दस्ताबेज प्रस्तुत गर्ने तयारी गरिरहेको छ । केन्द्रीय कमिटीमा बहुमत जुटेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको एजेन्डासमेत अघि बढाउने योजना रहेको स्रोतको भनाइ छ । इतर पक्षका नेता विनोद ढकालले पार्टीभित्रका विषयहरू संस्थागत र औपचारिक छलफलमार्फत मात्र टुंगो लाग्ने भन्दै बाहिरका चर्चालाई आधार मानेर निष्कर्ष निकाल्नु गलत हुने बताएका छन् ।
 

See More On

सुझावित समाचार