सिराहामा खैरो हेरोइनसहित दुईजना पक्राउ

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिका– ५, तेत्तिसबिघाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण कार्यालय गोलबजारको संयुक्त टोलीले दुई युवकलाई प्लास्टिकबाहेक आठ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनगढीमाई वडा नम्बर ५ का करिब २० वर्षीय भरतकुमार मण्डल र वडा नम्बर १० का करिब २१ वर्षीय जीवछ साफी रहेका सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये साफीको साथबाट खैरो हेरोइनजस्तो पदार्थ र थप खानतलासी गर्दा एक थान इलेक्ट्रिक तराजु र एक थान मोबाइल तथा उनीहरू चढेको स.९ प १०७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। 

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमार्फत सोमबार सिराहा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि आठ दिनको म्याद लिइएको छ।

सुझावित समाचार