वन क्षेत्र प्रयोगमा नयाँ व्यवस्था : रुख रोप्नैपर्ने बाध्यता हट्यो

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले विकास आयोजनाहरूलाई वन क्षेत्र प्रयोगमा सहजता दिन कानुनी प्रावधान संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ। केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत वन ऐन, २०७६ परिमार्जन गर्दै वन उपयोग प्रक्रिया सरल बनाइएको हो।

नयाँ प्रावधानअनुसार अब स्वीकृत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत अनिवार्य रूपमा रुख रोप्नुपर्ने बाध्यता हटाइएको छ। यसको विकल्पमा तोकिएको राजस्व सरकारी खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। तर, खानेपानी, सडक, पुल, सिँचाइ, सार्वजनिक यातायात, विद्युत् प्रसारण र स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारका सरकारी आयोजनाहरूले भने अतिरिक्त राजस्व तिर्नु नपर्ने प्रावधान छ।

वन क्षेत्र प्रयोगका लागि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य रहनेछ। राष्ट्रिय प्राथमिकताका आयोजना, लगानी बोर्डबाट स्वीकृत परियोजना, राष्ट्रिय गौरवका योजना तथा सरकारले तोकेको मापदण्ड पूरा गरेका आयोजनाले मात्र वैकल्पिक उपाय नभएको अवस्थामा राष्ट्रिय वन प्रयोग गर्न पाउनेछन्। साथै, यस्ता आयोजनाले वातावरणीय प्रभाव नपर्ने सुनिश्चित गर्नुपर्नेछ।

संशोधित व्यवस्थाअनुसार आयोजनाले प्रयोग गर्ने वन क्षेत्रबराबरको निजी जग्गा व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तो जग्गामा वृक्षरोपण गरी पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने वा कटान हुने प्रत्येक रुखको सट्टा पाँच गुणा बढी रुख रोप्न आवश्यक रकम राजस्व खातामा जम्मा गर्न सकिनेछ।

विद्युत् प्रसारण, वितरण तथा सञ्चार संरचना निर्माणका क्रममा टावर स्थापना गर्दा निश्चित शुल्क र वन उपयोगबापत थप राजस्व तिर्नुपर्ने प्रावधान पनि राखिएको छ। यसबाट संकलित रकम वन विकास, पुनर्स्थापना र संरक्षणमा प्रयोग गरिनेछ।

वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएपछि मात्र आयोजना अघि बढाउन पाइने व्यवस्था भने यथावत् राखिएको छ। साथै, राजस्व जम्मा भएपछि सम्बन्धित निकायले तोकिएको समयभित्र रुख कटान तथा हटाउने प्रक्रिया पूरा गर्नुपर्नेछ।

सुझावित समाचार