समाचार प्रकाशन भएपछि बिजुलीको पोल स्थानान्तरणको काम सुरु

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

सडकको बिचमा रहेको बिजुलीको पोल स्थानान्तरण नहुँदा सडक निर्माणको काम प्राभावित भएको समाचार आएपछि बर्दियाको गेरुवाको गाउँपालिकाको सडकको बिचमा परेको बिजुलीको पोल स्थानान्तरणको काम सुरु भएको हो ।

सडकको बिचमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदा कालोपत्रे सडक निर्माणको काम प्रभावित भनेर वैशाख ५ गते समाचार आएको थियो । समाचार आएपछि पालिकाले सडकको बिचमा रहेका पोल स्थानान्तरणको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ । 

पालिकाभित्र निर्माणाधीन कालोपत्रे सडकमा पर्ने सत्मोरीदेखि खोल्टीबजारको चारवटा पोल,  छुलछुले घाटदेखि उल्टनपुरको दुईवटा पोल,  जितराम थारूको घरदेखि त्रिवेणी चोक जाने बाटोमा पर्ने तीनवटा पोल र चतुरलाल थारूको घरदेखि वनकट्टीको नाैवटा गरी १५ वटा पोल सार्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजापुरका प्रमुख युवराज रावतले बताए । उनले भने, ‘बिजुलीको पाेल सार्ने वेलामा लाग्ने खर्च पालिकाले विद्युतको खातामा जम्मा गरेपछि बिजुलीको पोल स्थानान्तरणको काम अगाडि बढेको छ । पालिकाले बिजुलीको पोल सार्ने वेलामा लाग्ने करिब चार लाख ६८ हजार जम्मा गरेको छ ।’

गेरुवा गाउँपालिकाका कार्यालय प्रमुख बसबहादुर रानाले बिजुलीको पोल स्थानान्तरण गर्नका लागि आवश्यक पर्ने कानुनी  प्रक्रिया पूरा गरेर बिजुलीको स्थानान्तरणको काम अगाडि बढेको  बताए। उनले भने, ‘सडकको बिचमा रहेको बिजुलीको पोल स्थानान्तरणको काम अगाडि बढेसँगै सडक कालोपत्रेको कामले गति लिनेछ ।’

सुझावित समाचार