नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदका लागि एक सय ३७ उम्मेदवार उत्रिएका छन् । २१ र २२ वैशाखमा हुने महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनका लागि महासंघ निर्वाचन समितिले शनिबार अन्तिम नामावली प्रकाशन गरेको हो ।
महासंघ विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । महासंघका अनुसार २१ वैशाखमा ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा साधारणसभा उद्घाट हुने तथा २२ वैशाखमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचन हुनेछ । साधारणसभाले जिल्ला नगरतर्फ दुई उपाध्यक्ष, वस्तुगततर्फ एक र एसोसिएटतर्फ एक गरी चार उपाध्यक्ष चयन गर्नेछ । त्यस्तै, जिल्लानगरतर्फबाट सदस्यमा ३१ जना, वस्तुगततर्फ १७ जना र एसोसिएटतर्फ १९ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा छुट्टाछुट्टै प्यानल बनाएर दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
वरिष्ठ उपाध्यक्षका आकांक्षीद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित चुनावमा होमिएका छन् । ढकाल प्यानललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वैद्य प्यानललाई आगामी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको देखिन्छ । उनीहरू दुवैले खुला रूपमा आ–आफ्ना प्यानललाई भोट माग्दै आएका छन् । यद्यपि, सहमतिको प्रयास गर्नेसमेत बताउँदै आएका छन् । ढकालको प्यानलमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षहरूमा उमेश डालमिया र कल्पना गैरे रहेका छन् । वैद्य प्यानलमा वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा रहेका छन् ।
समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार कुल दुई हजार एक सय ५३ मतदाता रहेका छन् । जसमध्ये जिल्ला नगरतर्फ एक सय २९, वस्तुगततर्फ एक सय २४, द्विवराष्ट्रियतर्फ आठ र एसोसिएटतर्फ एक हजार आठ सय ९२ मतदाता रहेका छन् । निर्वाचनमा होमिएका उपाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ र कार्यसमिति सदस्यका उम्मेदवारले १ लाख रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्छ । त्यस्तै, निर्वाचनमा सहभागी प्रतिनिधिले ४ हजार रुपैयाँ बुझाउनुपर्ने तोकिएको छ ।