घुसका मुद्दामा ७७ प्रतिशत ठहर

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण
  • चालू आर्थिक वर्षमा विशेषको फैसलाअनुसार घुस–रिसवतसम्बन्धी २२ मध्ये पाँचमा सफाइ, १२ मा ठहर र पाँचमा आंशिक ठहर 

गत वर्ष २५ जेठमा विशेष अदालतले घुस प्रकरणमा प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई तीन महिना कैद, ३० हजार रुपैयाँ जरिवाना र एक हजार दुई सय रुपैयाँ अपराधपीडित राहत कोषमा बुझाउने फैसला गर्यो । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित नेपाल–भारत सीमामा खटिएका खड्काले सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पुष्टि भएको थियो । अख्तियारले उजुरीकर्तासँगको अडियो–भिडियो प्रमाण अदालतमा पेस गरेको थियो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई एक महिना कैद, २० हजार रुपैयाँ जरिवाना र आठ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउने फैसला भयो । सडक दुर्घटनापछि पीडक पक्षबाट तिर्नुपर्ने किरिया खर्च र क्षतिपूर्ति निकाल्नका लागि यादवले घुस मागेको प्रमाण भिडियोसहित बरामद भएको थियो । गत वर्ष २९ जेठमा भएको फैसलामा मुद्दाका अर्का प्रतिवादीले भने सफाइ पाएका थिए ।

सर्वोच्च अदालतले ‘आफैँले घुस दिएको रकमलाई प्रमाणका रूपमा पेस गर्न नमिल्ने’ नजिर स्थापित गरेपछि केही समय रंगेहात मुद्दामा सफाइको दर बढेको थियो । तर, पछिल्लो समय ठहर दर पुनः उकालो लागेको देखिन्छ । मुद्दा दायर संख्या घटे पनि विशेष अदालतको अभिलेखअनुसार आधाभन्दा बढी मुद्दामा दोषी ठहर भएका छन् । 

चालू आर्थिक वर्षको १० वैशाखसम्म विशेषमा ९७ वटा मुद्दाको फर्स्योट भएकोमा ४३ वटामा सफाइको फैसला भएको छ भने चारवटा खारेज भएका छन् । यसैगरी ठहर मुद्दा २१ थान र आंशिक ठहर २९ थान रहेको विशेषको लगत छ । यसरी हेर्दा समग्रमा सफाइ प्रतिशत ४४ छ भने ठहर प्रतिशत ५१ छ । बाँकी खारेज मुद्दा छन् । 

यस अवधिमा घुस–रिसवतसम्बन्धी २२ फैसलामा विशेषले पाँचमा सफाइ दिएको छ । यसैगरी १२ वटामा ठहर तथा पाँचवटामा आंशिक ठहरको फैसला गरेको छ । प्रतिशतका आधारमा हेर्दा कुल फैसलाको ७७ प्रतिशत मुद्दा ठहर भएका छन् भने २३ प्रतिशतमा सफाइ देखिन्छ ।

अनियमितताका तीन मुद्दा फैसला भएकामा दुईवटामा आंशिक ठहर अनि एउटामा सफाइको फैसला भएको छ भने गलत लिखत तयार गरेको भनी दायर मुद्दामध्ये पाँचवटा फैसला भएकोमा तीनवटामा सफाइ र बाँकी एक–एकवटामा ठहर तथा आंशिक ठहरको फैसला भएको छ । यस अवधिमा गैरकानुनी लाभका २१ फैसलामा १२ वटामा सफाइ दिइएको छ भने सातवटामा आंशिक ठहर र दुईवटामा पूर्ण ठहरको फैसला भएको छ ।

उक्त अवधिमा गैरकानुनी सम्पत्ति आर्जनका कुल दुई मुद्दा रहेकोमा एउटामा सफाइ र एउटामा ठहरको फैसला भएको छ । नपाएको ओहदा पाएँ भनेकामा एउटा मुद्दा फैसला भएकामा सफाइ दिइएको छ भने नक्कली प्रमाणपत्रका नौ मुद्दामध्ये दुई खारेज भएका छन् भने पाँचमा सफाइ र दुईवटामा ठहरको फैसला भएको छ । विशेषले परीक्षा परिणाम फेरबदलका तीन मुद्दा फैसला गरेकोमा दुईवटा खारेज भई एउटामा आंशिक ठहर गरेको छ ।

रकम हिनामिनाका भने दर्जन मुद्दा विशेषले छिनोफानो गरेको छ । जसमध्ये पाँचमा सफाइ, चारमा आंशिक ठहर र तीनमा ठहरको फैसला भएको छ । सरकारी जग्गा व्यक्तिका नाममा गरेको दुई मुद्दा ठहर भएका छन् भने हानि–नोक्सानीका १७ मध्ये १० वटामा सफाइ तथा सातवटामा आंशिक ठहरको फैसला भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव ०८२/८३ वैशाख १३ सम्ममा २१ वटा स्टिङ अप्रेसन गरेको छ भने ०८१/८२ मा पनि कुल २१ वटा स्टिङ अप्रेसनका मुद्दा दर्ता गरेको थियो । त्यसअघिको वर्षमा ३२ वटा र आव ०७९/८० मा ३७ वटा यस प्रकृतिका मुद्दा दर्ता भएका थिए । त्यसअघिको वर्ष भने यो संख्या २५ थियो । 
०७८ वैशाखमा सर्वोच्चले फैसला गर्दासम्म सो आर्थिक वर्षमा ६४ वटा मुद्दा दर्ता भएका थिए । ०७६/७७ मा झन् यो संख्या १७० थियो भने त्यसअघिको वर्ष यस प्रकृतिका १३२ मुद्दा विशेषमा दर्ता भएको अख्तियारको अभिलेख छ । सर्वोच्चले स्टिङ अप्रेसन सम्बन्धमा गरेको फैसलापछि यस प्रकृतिका मुद्दा दर्ता ठुलो मात्रामा घटेको छ ।

यसअघि ०७८ बाट सर्वोच्चबाट रंगेहात पक्राउ परेका मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिने गरिएको थियो । सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावलीको नियम ३० खारेज गर्ने फैसला गरेपछि रंगेहात पक्राउका सबैजसो मुद्दामा सफाइ हुँदै आएको थियो ।

सर्वोच्चको फैसलापछि अख्तियारले आफैँले घुस रकम उपलब्ध गराउन बन्द गरेको थियो । उजुरीकर्ताले जानकारी गराएपछि अख्तियारले रिसवत माग्नेलाई दिने पैसाको नम्बर टिपेर राख्छ र त्यो रकम रिसवत लिइसकेको अवस्थामा बरामद भएका रकमसँग भिडाएर मिलेमा रंगेहातको मुद्दा दायर गर्ने गरेको छ । अर्थात् मुख्य प्रमाण अहिले पनि रकम नै भए पनि पहिले अख्तियार आफैँले घुसका लागि रकम दिने गरेकोमा अहिले भने उजुरीकर्ता आफैँले पैसाको व्यवस्था गर्ने गरेका छन् । अख्तियारले मुख्य दसीका रूपमा बरामद रकम नै अदालतमा पेस गर्ने गरेको छ ।

के थियो सर्वोच्चको फैसला ?
अख्तियारको नियम ३० अनुसार आयोगले आफ्ना कर्मचारी वा उजुरीकर्तामार्फत घुस रकम उपलब्ध गराउन सक्थ्यो र त्यसमा संलग्नलाई सजाय नहुने व्यवस्था थियो । तर, सर्वोच्च अदालतले यस्तो प्रावधान संविधान र स्वच्छ सुनुवाइको हकविपरीत भएको ठहर गर्दै खारेज गर्यो । ८ वैशाख ०७८ मा संवैधानिक इजलासले विष्णुप्रसाद घिमिरे निवेदक रहेको रिटमा फैसला गर्दै स्टिङ अप्रेसनको उक्त अभ्यासलाई असंवैधानिक ठहर गरेको थियो । त्यसपछि केही समय सफाइ दर उच्च देखिए पनि पुनः रंगेहातका मुद्दामा ठहर बढेको छ । 
 

सुझावित समाचार