श्रमिक सुरक्षाका लागि पाँचवर्षे रणनीतिक योजना लागू

श्रमिक दिवसमा श्रममन्त्री यादवले सार्वजनिक गरे सुधारका कार्यक्रम

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले एक सय ३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर शुक्रबार तीनवटा सुधारका योजना लागू गरेका छन् ।

मन्त्री यादवका अनुसार पाँचवर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनले जानकारी दिए । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारीबाट हप्तामा एकपटक फेसबुक वा टिकटक लाइभ कार्यक्रम सञ्चालनको सुरुवात पनि भएको छ । मन्त्रीको उक्त घोषणालगत्तै शुक्रबार दिउँसो सबै श्रम सहकारी रहेका दूतावासले फेसबुक लाइभमार्फत श्रमिकसँग प्रत्यक्ष संवाद गरेका थिए ।

मन्त्री यादवले उक्त अभियानबाट विदेशमा रहेका श्रमिकलाई ‘तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ’ भन्ने अनुभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था पनि लागू गरेको उनले जानकारी दिए ।

मन्त्री यादवले सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले सबै क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान पुर्याउन पनि अपिल गरेका छन् । ‘श्रमिकको पसिनाको उचित मूल्य र सम्मान सुनिश्चित भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।

यसैबिच, वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिने सेवा शुल्कबापतको रकम म्यानपावर कम्पनीले अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत नै बुझ्नुपर्ने भएको छ । श्रमिकबाट नगदमा ठुलो रकम बुझ्ने र औसतमा १० हजार रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट बुझ्ने विकृति झाँगिँदै गएको र ठगी पर्ने श्रमिकलाई क्षतिपूर्ति दिलाउन मुस्किल भएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावरलाई बैंकिङ च्यानलमार्फत मात्रै सेवा शुल्क बुझ्न परिपत्र गरेको हो ।

श्रमिकलाई पनि सेवा शुल्कबापत बुझाउनुपर्ने रकम नगदमा नदिन विभागले अनुरोध गरेको छ । म्यानपावरलाई बुझाएको रकम बैंकिङ च्यानलमा देखिए ठगी गरेको उजुरी प्रमाणित हुँदा क्षतिपूर्ति दिलाउन सजिलो हुने विभागले जनाएको छ । 

See More On

सुझावित समाचार