विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को घोषणा गरिएको छ । यसपटकको संस्करणमा डिजिटल वालेट सिटी पेमार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्ने भएको छ । सिटी पेले यस सोको अन्तर्राष्ट्रिय फर्म्याट मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ ।
सहभागी हुनेले पनि शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ । दर्शकले समेत ग्रान्ड फिनालेको टिकट सिटी पेमार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ । यस सिजनको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलेब्रिटी ग्रान्ड जज’का रूपमा घोषणा गरिएको छ । उनीसँगै निर्णायकमण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमू रहनेछन् ।
प्रतियोगितालाई चारवटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन्। प्रत्येक डिभिजनका विजेताले एक लाख नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहार प्राप्त गर्नेछन् । साथै, विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् ।
नेपालभरका प्रतिभालाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ । अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्रान्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ ।