पोखरा– २९ का वडाध्यक्ष गुरुङको सार्वजनिक जग्गामा घर र स्कुल

आफ्नो नाममा भएको जग्गा बिक्री गरी सार्वजनिक जग्गा कब्जा

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

पोखरा महानगरपालिका– २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ सार्वजनिक जग्गा कब्जा गरी बसेको भेटिएको छ । पोखरा महानगरपालिकाले ४ वैशाखमा नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी, पर्ती जग्गा खाली गराउन अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन एक सूचना जारी गरेको थियो । यो सूचना जारी भएपछि वडाध्यक्ष नै सार्वजनिक जग्गा कब्जा गरी बसेको भेटिएको हो । 

वडाध्यक्ष गुरुङले ३६ वर्षदेखि पोखरा– २९ भण्डारढिकस्थित साढे दुई रोपनी सार्वजनिक जग्गा (जुन तत्कालीन अवस्थामा स्थानीयले खेल मैदानका रूपमा प्रयोग गर्ने गरेका) कब्जा गरी बस्दै आएको भेटिएको हो । एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले आफू साढे दुई रोपनी सार्वजनिक जग्गामा बस्दै आएको बताए पनि स्थानीयका अनुसार उनले प्रयोग गर्दै आएको जग्गा चार रोपनीहाराहारीमा छ । हाल सो जग्गामा वडाध्यक्ष गुरुङले स्थानीय शीतला अधिकारीसँगको साझेदारीमा मन्टेस्वरी स्कुल सञ्चालन गर्दै आएका छन् । यसअघि सो जग्गामा वडाध्यक्षले रेस्टुरेन्ट सञ्चालन गरेका थिए । उनले प्रयोग गर्दै आएको जग्गामा टिनका टहरासँगै एउटा एक तला ढलान र त्यसमाथि टिनको छानासहितको दुईतले घर छ । सोही ढलान घरको तलामा उनी बस्दै आएका छन् ।

स्थानीयका अनुसार तत्कालीन अवस्थामा उनले आफ्नो नाममा भएको जग्गा बिक्री गरी सार्वजनिक जग्गा कब्जा गरेका हुन् । हालको पोखरा–२३ पन्चासेस्थित सिदानेबाट ०३२ मा आमाबुबा र तीन दाजुभाइसहित पोखरा झरेका गुरुङ परिवारले त्यसको केही समयपछि भण्डारढिकमा ६–७ रोपनी जग्गा खरिद गरेका थिए । खरिद गरेको जग्गा भागबन्डा लगाउँदा उनको भागमा एक रोपनी परेको थियो । आफ्नो नामको जग्गा उनले ०४३ मा बिक्री गरी त्यसको केही समयपछि उनीसँगै नौजना स्थानीयले खेल मैदानका रूपमा प्रयोग गर्दै आएको जग्गा कब्जा गरी बसेका थिए । स्थानीयका अनुसार तत्कालीन अवस्थामा भण्डारढिकमा गुरुङले नै खाली जग्गामा मान्छेहरू ल्याएर बसाल्न सुरु गरेका थिए ।

वडाध्यक्ष श्रीप्रसाद गुरुङ भन्छन्– ०४८ देखि साढे दुई रोपनी जग्गा प्रयोग गर्दै आएको छु
हाम्रो परिवार ०३२ मा सिदानेबाट तल बजारमा झरेको हो । आफू बसेको स्थाननजिकै खाली जग्गा देखेपछि तत्कालीन अवस्थामा हामी नौजनाले सो जग्गा भागबन्डा गरी ०४७ देखि बस्न सुरु गरेको हो । हामीले चार रोपनी जग्गा बाँडेका थियौँ । मेरो भागमा डेढ रोपनी जग्गा परेको थियो । नौजनामध्ये एकजनाले सो स्थान छाड्ने बताएपछि ०४८ मा पाँच सय दिएर मैले उसले जग्गा खरिद गरेको थिएँ । मैले किनेको र पाएको गरी साढे दुई रोपनी जग्गा ०४८ देखि प्रयोग गर्दै आएको छु । सो जग्गामा केही समय रेस्टुरेन्ट सञ्चालन गरेको थिएँ, नचलेपछि एकजना बैनीसँग मिलेर डेढ वर्षदेखि मन्टेस्वरी सञ्चालन गर्दै आएको छु । 

सुझावित समाचार