आइसिसी महिला च्यालेन्ज ट्रफी : कविताको ह्याट्रिक विकेटमा नेपालको सानदार जित

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण
  • महिला क्रिकेट इतिहासमा कविता ह्याट्रिक लिने चौथो नेपाली बलर बनेकी छिन् । यसअघि रुविना क्षेत्री, अञ्जली चन्द तथा सीता रानामगरले टी–२० आईमा ह्याट्रिक लिएका थिए ।

कविता कुँवरले आइसिसी महिला च्यालेन्ज ट्रफी टी–२० आई क्रिकेट प्रतियोगितामा बिहीबार भानुआटुविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपालले भानुआटुलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको महिला क्रिकेट इतिहासमा कविता ह्याट्रिक पूरा गर्ने चौथो बलर हुन् । यसअघि रुविना क्षेत्री, अञ्जली चन्द तथा सीता रानामगरले ह्याट्रिक लिएका थिए । 

जितसँगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रुवान्डामा चलिरहेको च्यालेन्ज ट्रफीमा आफ्नो सातौँ खेलमा नेपालले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ३२ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा भानुआटुले कविताको घातक बलिङ सामना गर्न नसक्दा १६.४ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र जोड्यो । कविताले आफ्नो उत्कृष्ट स्पेलमा एक मेडनसहित पाँच रन खर्चेर सर्वाधिक ६ विकेट हात पारिन् । 

नेपालले सात खेलमा चार जित र तीन हार सामना गरी आठ अंक जोडेको छ । नेपालले दोहोरो राउन्ड रोबिन लिगमा अमेरिकालाई मात्र हराउन सकेको छैन । अमेरिकाले सात खेलमा सर्वाधिक ६ जित र एक हार सामना गरी १२ अंक जोडी शीर्ष स्थान बलियो बनाएको छ । आयोजक रुवान्डा आठ अंकका साथ तेस्रो स्थानमा छ । रुवान्डाले सात खेलमा चार जित र तीन हार नतिजा निकालेको छ । प्रतियोगितामा शीर्ष टोलीले उपाधि जित्नेछ । अमेरिकाले उपाधि हात पारिसकेको छ । अब नेपाल, रुवान्डा र इटालीमध्ये एक टोली शीर्ष दुई स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

टी–२० आईमा नेपालको दोस्रो उत्कृष्ट स्पेल
आइसिसी टी–२० महिला आईमा दायाँहाते बलर कविताले नेपालका लागि दोस्रो उत्कृष्ट स्पेल गरिन् । उनले केवल ३.४ ओभरमा एक मेडनसहित पाँच रन खर्चेर ६ विकेट हात पारिन् । 

उनले आफ्नो स्पेलमा तीन वाइड फ्याँकेकी थिइन् । यसअघि सन् २०१९ मा नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा अञ्जली चन्दले उत्कृष्ट स्पेल गरेकी थिइन् । उनले माल्दिभ्सविरुद्ध केवल २.१ ओभरमा कुनै पनि रन नदिई ६ विकेट लिएकी थिइन् । कविताले रुवान्डाविरुद्ध गरेको प्रदर्शन समग्रमा अन्तर्राष्ट्रिय टी–२० आईमा ११औँ उत्कृष्ट बलिङ प्रदर्शन रह्यो । कविताले लिएका ६ विकेट नै बोल्डका रूपमा रह्यो । 

१४औँ ओभरमा ह्याट्रिक 
च्यालेन्ज ट्रफीकै कमजोर प्रतिद्वन्द्वीका रूपमा रहेको भानुआटुविरुद्ध कविताले इनिङ्सको १४औँ ओभरमा ह्याट्रिक लिएकी हुन् । उनले इनिङ्सको १४.१ ओभरमा गिलिनआन चिलिआलाई क्लिन बोल्ड गरिन् । १४.२ ओभरमा उनले चिलिआलाई बोल्ड गर्न सफल भइन् । ह्याट्रिक विकेटका रूपमा उनले ग्रिफिनलाई बोल्ड गरिन् । उनको ह्याट्रिक पूरासँगै नेपाली महिला खेलाडीले खुसियाली मनाएका थिए । 

लगातार एकै ओभरमा तीन विकेट गुमाएको भानुआटु ४३–३ को स्थितिमा पुग्यो । कविताले १६औँ ओभरमा थप दुई विकेट लिइन् । इनिङ्सको १६.३ ओभरमा उनले मेसिला फारेलाई बोल्ड गरिन् । १६.४ ओभरमा रायलिन ओभालाई कविताले बोल्ड गर्दै भानुआटुलाई १६.४ ओभरमा ४९ रनमै सीमित पारिन् । भानुआटुले एक सय ३३ रनको लक्ष्य पछ्याएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा भानुआटुका लागि ओपनर भालेन्टा लागैआले सर्वाधिक १४ रन बनाइन् । उनले १९ बलमा तीन चौका प्रहार गरेकी थिइन् । बलिङमा नेपालका लागि रचना चौधरीले तीन ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । पूजा महतोले चार ओभरमा १० रन दिँदै दुई विकेट हात पारिन् । 

सम्झना र इन्दुले सम्हालेको ब्याटिङ
पहिलो ब्याटिङ गरेको नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । यसअघिका खेलमा कमजोर ब्याटिङ प्रदर्शन हुँदा नेपाल पराजित भएको थियो । नेपालले भानुआटुविरुद्ध उत्कृष्ट ब्याटिङ गर्यो । पहिलोपटक नेपालले ओपनिङमा उत्कृष्ट साझेदारी पायो । सम्झना खड्का र पूजा महतोले पहिलो विकेटका लागि ६.५ ओभरमा ४४ रनको साझेदारी गरे । पूजाले २० बलमा एक छक्काको सहयोगमा १९ रन बनाइन् । सम्झनाले विन्दु रावलसँग दोस्रो विकेटका लागि २९ रन जोडिन् । सात रनमा विन्दु रिटायर्ड हट भइन् । सम्झनाले आफ्नो विकेट १५.५ ओभरमा एलबिडब्लूका रूपमा गुमाइन् । उनले ५१ बलमा नौ चौकाको सहयोगमा ५२ रनको योगदान दिइन् । त्यसपछि कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै नेपालको रनरेट उकासिन् । उनले केवल १८ बलमा सात चौकाको सहयोगमा ४३ रन जोडिन् ।

See More On

सुझावित समाचार