- बिहीबार विश्वव्यापी कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ अमेरिकी डलर माथि पुग्यो । चार वर्षयताकै उच्चतमस्तरमा पुगेर बिहीबार नै तेलको मूल्य प्रतिब्यारेल लगभग ११४ डलरमा झरेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमाथि हाल अमेरिकाले लगाइरहेको नाकाबन्दी महिनौँ लम्बिने सक्ने चेतावनी दिएलगत्तै विश्वबजारमा तेलको मूल्य सन् २०२२ पछिको उच्चतमस्तरमा पुग्यो । इरान–अमेरिकाबिच शान्ति वार्तासमेत अवरुद्ध रहेको स्थितिमा ट्रम्पको चेतावनीले बिहीबार विश्वव्यापी कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ अमेरिकी डलर माथि पुग्यो । चार वर्षयताकै उच्चतमस्तरमा पुगेर बिहीबार नै तेलको मूल्य प्रतिब्यारेल लगभग ११४ डलरमा झरेको थियो ।
२४ घण्टाभित्र १३ प्रतिशतभन्दा बढीले बढेपछि ब्रेन्ट कच्चा तेलको मूल्य २८ फेब्रुअरीमा इरान युद्ध सुरु भएयताकै उच्चतम मूल्यमा पुग्यो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि तेलको मूल्य १३९ डलरसम्म पुगेको थियो । त्यसयता ब्रेन्टको मूल्य १२० माथि पुगेको थिएन ।
अहिले अमेरिकी नौसेनाले इरानी बन्दरगाहमाथि नाकाबन्दी लगाइरहेको छ । जवाफमा इरानले स्ट्रेट अफ हर्मुजबाट आउजाउ गर्न सक्ने सबै तेल ट्यांकरमाथि प्रतिबन्ध लगाएको छ । ट्रम्पले यसै साता तेल कम्पनीका प्रमुख कार्यकारीलाई भेटेर ‘आवश्यक परेमा अमेरिकाले महिनौँसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी राख्नेछ’ बताएको ह्वाइट हाउसका एक अधिकारीले बताए ।
अमेरिकी अधिकारीले जारी नाकाबन्दीले इरानलाई आफ्नो तेल उत्पादन सीमित गर्न र उत्पादन बन्द गर्न बाध्य पार्ने आशा गरेका छन् । इरानी तेलको प्रमुख खर्ग टापुमा रहेको भण्डारण चाँडै भरिने भएकाले त्यसपछि इरानी तेल उत्पादन भण्डारण गर्न सकिनेछैन ।
तेलको मूल्यमा देखिएको तीव्र वृद्धिले इन्धन र औद्योगिक उत्पादनको बढ्दो लागतले गर्दा विश्वव्यापी मन्दीको जोखिम बढेको छ । ‘स्ट्रेट अफ हर्मुज अझै तीन महिना बन्द रह्यो भने विश्व पूर्णस्तरको मन्दीमा पस्ने सम्भावना उच्च देखिन्छ,’ नोबेल पुरस्कार विजेता अर्थशास्त्री पल क्रुगम्यानले भने ।