नेपाली कांग्रेसका सभापति गगन थापाले सीमा क्षेत्रमा लागू गरिएको ‘एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ व्यवस्थाले स्थानीयको जनजीवन कष्टकर बनेको बताएका छन्। हालै संघीय सरकारले उक्त नियम कडाइका साथ कार्यान्वयन गर्न थालेपछि दैनिक आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष प्रभावित भएको उनको ठहर छ ।
आफू सर्लाहीको सीमा क्षेत्र पुगेर फर्किएको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर थापाले सीमा क्षेत्रमा भेटिएका एक ज्यालादारी मजदुरले सामान्य उपभोगका सामानका कारण घण्टौँसम्म जाँचमा बस्नुपरेको गुनासो गरेको भन्दै उनले उक्त नीति नयाँ नभए पनि व्यवहारमा अव्यावहारिक रहेको उल्लेख गरे।
एक स्थानीय महिलाले पहिले ‘सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ,’ भन्दै चिन्ता व्यक्त गर्दा आफूलाई गम्भीर बनाएको बताएका छन् । ‘यो व्यवस्था विभिन्न सरकारका पालामा कानुनमै रहे पनि यसको प्रभावका कारण कार्यान्वयनमा ल्याइएको थिएन,’ उनले भने, ‘समयमै सुधार गर्न नसक्नु हाम्रो कमजोरी थियो।’
उनले उक्त व्यवस्थालाई ‘नागरिकमैत्री नभएको’ भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। साथै, सीमा क्षेत्रमा पहिलेजस्तै सहज आवतजावत सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक जीवन, रोजगारी र आधारभूत आवश्यकतामा प्रत्यक्ष असर परेको बताउँदै नीति पुनरावलोकनको माग गरिरहेका छन्।