महिनौँको राजनीतिक गतिरोधपछि अन्ततः इराकले नयाँ प्रधानमन्त्री पाएको छ । इराकमा गत वर्ष नोभेम्बर २५ मा निर्वाचन भएपछि सहमतिको उम्मेदवार चुन्न नसक्दा लामो समय नयाँ सरकार गठन हुन सकेको थिएन । लामो छलफलपछि सोमबार व्यापारी अली अल जैदीलाई संसद्मा बहुमत रहेको सिया गठबन्धनले प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्यो ।
सोमबार नै इराकका राष्ट्रपति निजार अमेदीले ४० वर्षीय अल जैदीलाई प्रधानमन्त्री नियुक्त गर्दै सरकार गठन गर्ने जिम्मेवारी सुम्पेका छन् । स्थानीय गुट र विदेशी शक्ति दुवैलाई स्वीकार्य हुन नसक्दा यसअघि प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारिएका पूर्वराष्ट्रपति नुरी अल मलिकी अन्तिम समयमा रोकिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल मलिकी इराननजिकका नेता भएको भन्दै विरोध गरेका थिए ।